हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नम्बर-७ भ्रमरपुरामा धान खेतमा गाडिएको अवस्थामा एक महिलाको शव भेटिएको छ ।
उक्त शव गत जेठ १९ गतेदेखि आफ्नै घरबाट बेपत्ता भएकी सुजिता ठाकुरको रहेको स्थानीयको आशंका छ । तर, प्रहरीले भने शव सुजिताकै भए/नभएको बारे पुष्टि हुन बाँकी रहेको बताएका छन्।
सुजिताको माइती पक्षले छोरीको हत्या भएकाे भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा दिइएको जाहेरीका आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा खेतमा आइतबार शव फेला पारेको छ ।
आफ्नो छोरीको हत्या उसको ससुराली पक्षले गरेको मृतकका पिता कामेश्वर पाण्डेको आरोप रहेको छ भने उनले छोरीको ससुराली पक्षले घरायसी विवाद हुँदा पटक पटक ज्यान मार्ने प्रयास गर्दै आएको र यसअघि पनि छोरीको ज्यान मार्ने थुप्रै प्रयास भएको बताएकाहुन् । उनले भने,‘डेढ वर्ष अघि नै मुद्दा मामिलाको क्रममा प्रशासनको रोहबरमा दुबै पक्षबीच अबदेखि सुजितालाई कुनै प्रकारको यातना नदिने सहमति भएको थियो तर, यसपटक भने उसको हत्या नै गरियो ।’
उनले प्रहरीले अभियुक्तलाई संरक्षण दिँदै आइरहेको आरोप समेत लगाएका हुन् । यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले आफूहरूले अनुसन्धान गरिरहेको बताउनुभएको छ।
सुजिताका ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देउरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध किटानी जाहेरी दिन खोजेकोमा प्रहरीले अस्वीकार गरेको पीडित परिवारले जनाएको छ । त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए ।महोत्तरीको लोहारपट्टी नगरपालिका-७ भम्रपुरा निवासी पत्तिराम ठाकुरका छोरा मुकेश ठाकुरसँग पिपरा गाउँपालिका वडा नम्बर-६ बस्ने कामेश्वर पाण्डेयकी छोरी सुजिता ठाकुरको ११ वर्षअघि सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।



