हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट विनियोजन गरेको छ ।

वडाध्यक्ष र केही कार्यपालिका सदस्यहरुको विरोधका बावजुद जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।जनकपुरधाम उपमहानगरको सभाकक्षमा भएको नगरसभामा उपप्रमुख रीताकुमारी मिश्रले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी हुन् ।

बिहीबार सम्पन्न सातौँ नगरसभाबाट उपमहानगरले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट ल्याएको हो ।

उपमहानगरले चालु तर्फ ६२.२३ प्रतिशत अर्थात ९५ करोड ७५ लाख ६१ हजार र पूँजिगत तर्फ ३७.७७ प्रतिशत अर्थात ५८ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ । उपमहानगरले ल्याएको बजेटमा चालु खर्च बढि रहेकोले विकास निर्माणको कार्यलाई वास्ता नगरिएको अर्थविदहरुको भनाइ छ ।

कोरोना महामारीको त्रास कायमै रहेको समयमा स्वास्थ्य, शिक्षा तथा कृषिमा बजेट बढि केन्द्रित हुनुपर्नेमा तालिम, बैठक भत्ता, सवारी साधन खरिदमा विशेष केन्द्रित रहेको देखिएको छ ।

बजेटमा आगामी आर्थिक वर्षमा सवारी साधन खरिदका लागि ३ करोड २२ लाख र सवारी साधन मरम्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, पदाधिकारी बैठक भत्तामा १ करोड १० लाख, कर्मचारी बैठक भत्तामा १६ लाख, महगी भत्ता ३३ लाख, कर्मचारी प्रोत्साहन तथा पुरस्कारका लागि ७ लाख, पदाधिकारीको अन्य सुविधामा २ करोड ५० लाख रकम विनियोजन गरिएको छ । विभिन्न कार्यक्रमको शिर्षकमा समेत बजेट छुट्याइएको छ ।

त्यस्तै, युवाहरुका लागि सीप विकास तालिममा ९९ लाख, कार्यक्रम खर्च शिर्षकमा ५ करोड ३८ लाख ७१ हजार, सार्वजनिक सम्पति मरम्मत सम्भारका लागि २ करोड ५५ लाख, विद्युत संरचना निर्माणका ५ करोड ६१ लाख तथा अन्य सार्वजनिक निर्माण शिर्षकमा १ करोड बजेट छुट्याइएको छ ।

नगरस्तरीय पूर्वाधार योजनाका लागि ९ करोड र वडास्तरीय पूर्वाधार योजनाका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ भने स्थानीय भत्ता शीर्षकमा ९० लाख रुपैयाँ बजेट छुट्याइएको छ । ठूलै हिनामिना गर्नका लागि यस प्रकारको बजेट ल्याइएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आरोप लगाए ।

समग्र विश्व कोरोना महामारीको चपेटामा परेको बेलामा समेत जनकपुरधाम उपमहानगरपालिकाले बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि केही खुलाएको छैन् । त्यस्तै फोहोर मैला व्यवस्थापनका लागि बजेट उल्लेख गरिएको छैन् भने सो शिर्षकमा चालु आर्थिक वर्षमा समेत कति रकम खर्च गरियो भन्ने विषयमा समेत केही उल्लेख गरिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.