हुलाकी न्यूज, जनकपुरधाम :प्रधानमन्त्री केपी शर्मा ओलीले अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढङ्गले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को छैटाैँ बैठकलाई बुधवार (आज) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । उहाँले सरकारले विपद्पूर्व नै सम्भावित जोखिमको आँकलन गरी तयारी गरिरहेको र अहिले त्यहीअनुसार कार्य भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा प्रधानमन्त्रीले उद्धार र राहत कार्यमा अपाङ्गता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिनुभयो । उहाँले ठूलो सङ्ख्यामा नागरिकलाई सुरक्षित ठाउँमा सार्दा उनीहरूमै कोभिड १९ सङ्क्रमणको जोखिमलाई समेत ध्यानमा राख्नुपर्ने बताउनुभयो । उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीयस्तरमा बन्ने साधन प्रयोग गर्न पनि उहाँले जोड दिनुभयो ।

राहत वितरणमा अनियमितता हुन नदिनका लागि अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने धारणा प्रधानमन्त्री ओलीको थियो । यसैगरी उहाँले तराईमा डुबानको सम्भावना भएका ठाउँमा संयुक्त सीमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न तथा पहाडी भेगमा नयाँ ठाउँमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्न निर्देशन दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.