हुलाकी न्यूज, जनकपुरधाम : प्रदेश २ का हरके स्थानीय तहमा दलित छात्राबास र जेष्ठ नगारिक आवास बन्ने भएको छ । प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा उक्त योजना समावेश गरेको हो।
प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराजले प्रस्तुत गरेको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भनिएको छ, ‘प्रत्येक जिल्ला सदरमुकाममा सञ्चालित दलित छात्राबास र जेष्ठ नागरिक आवास कार्यक्रमलाई यस आर्थिक वर्षमा सम्पन्न गरी उक्त योजनालाई क्रमशः महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा समेत विस्तार गरिनेछ ।’
यस्तै नमूनाको रुपमा प्रत्येक जिल्लामा १/१ वटा आधुनिक र प्रविधिमैत्री बस्ती विकास कार्यक्रम सञ्चालन भइरहेकोमा उक्त स्थानहरुमा एकीकृत पूर्वाधार विकास कार्यक्रमको स्वरुपलाई थप प्रभावकारी बनाइनेछ ।
प्रत्येक जिल्लाको सदरमुकाममा प्रादेशिक अतिथि सदन निर्माण गर्ने पनि प्रदेश सरकारले घोषणा गरेको छ । जनकपुरमा मधेस सम्मेलन केन्द्र निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
हाल प्रथम चरणमा जनता आवास कार्यक्रम अन्तर्गत सञ्चालित डोम, मुसहर, मेस्तर र हलखोरको घर निर्माणलाई निरन्तरता दिइनेछ । साथै अब अन्य दलित, लोपोन्मुख लगायतका लक्षित वर्गमा यो आवास कार्यक्रम पुर्याइने घोषणा पनि गरिएको छ । प्रदेश प्रमुख दलित विपन्न स्वरोजगार कार्यक्रमलाई पनि सञ्चालन हुने बताइएको छ ।