हुलाकी न्यूज, जनकपुरधाम : नेपालकै पहिलो राजमार्ग लाइफलाइनको रूपमा रहेको हुलाकी सडकअन्तर्गत सिरहा खण्डमा कालोपत्रे सुरु भएको छ ।

सिरहा सदरमुकामको महावीर चौकदेखि बलान नदीसम्म करिब २९.७७ किलोमिटरको उक्त सडकमा कालोपत्र सुरु भएपछि स्थानीयवासी उत्साहित देखिएका छन्। सिरहा सदरमुकामदेखि औरही गाउँपालिकासम्म करिब ८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको छ।

सिरहा नगरपालिकांं ७, शिवचौकदेखि औरही गाउँपालिका-५, सुन्दर जनता माध्यमिक विद्यालय छेउसम्म सडकमा कालोपत्र निर्माण सम्पन्न भएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरले जनाएका हुन्।

उक्त सडकमा ११ मीटरमध्ये अहिले ७ मीटर चौडाइमा कालोपत्र भइरहेको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर जयनाथ यादव बताउनुभएकाे छ ।

दुई लेनको उक्त सडक कालोपत्रे गर्न ९ पुस २०७४ मा ३० महिनाभित्र निर्माण पूरा गर्नेगरी स्वछन्द रोशन महादेव खिम्ती जेभीले १ अर्ब २० करोड (भ्याट बाहेक) मा सम्झौता गरेको थियो ।

तर, ३० महिनाको समयभित्र सडक निर्माण कार्यमा करिब ६५ प्रतिशत भौतिक प्रगति मात्रै हुन सकेको आयोजनाले जनाएको थियो । ३० महिनाको म्यादभित्र काम सम्पन्न नभएको र कोरोना संक्रमणले लकडाउन भएपछि काम प्रभावित हुँदा निर्माण कम्पनीले १५ महिनाको म्याद थप गराएको छ ।

म्याद थप भएपछि आगामी भदौसम्म सडक निर्माण पूरा गर्नेगरी काम भइरहेको निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर शशीकुमार यादवले जानकारी दिए । पश्चिममा कमला नदीदेखि पूर्वमा बलान नदीसम्म सिरहा नगरपालिका, औरही, बरियारपट्टी, नवराजपुर र भगवानपुुर गाउँपालिका गरी जिल्लाका पाँच स्थानीय तह जोडिएको यो सडकको निर्माणको काम समयमै सम्पन्न हुने दाबी उनको रहेको छ ।

निर्माणका क्रममा सडक क्षेत्रभित्र रहेका विद्युत पोल हटाउन र बस्ती क्षेत्रमा नाला निर्माण गर्न समस्या भएकोसमेत निर्माण कम्पनीले बताएको छ । कतिपय स्थानमा जग्गा अधिग्रहणमा पनि समस्या हुँदा नाला निर्माण ढिलाई भइरहेको साईट म्यानेजर यादवले बताए। अवरोध हटाउन सरोकारवाला कार्यालयसँग समन्वय भइरहेको उनले जनाएका हुन ।

मधेशकै हुलाकी सडकको निर्माणको काम थालिएपछि यस क्षेत्रका सर्वसाधारण खुसी भएका छन् ।

हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनुका साथै रोजगारीका अवसरहरू सृजना हुने हुलाकी सडक संर्घष समितिका संयोजक रामरिजन यादवले बताउनु भएको छ । सडक निर्माण भएपछि यस सडकखण्डमा खाल्डाखुल्डी तथा धुलाम्मेको अवस्था अन्त्य हुने र हुलाकी सडकले यस क्षेत्रमा आर्थिक गतिविधि बढाउन ठूलो भूमिका खेल्ने उनको भनाइ छ ।

तर, अझै पनि काम समयमै सम्पन्न हुने विश्वास कमै रहेको उनले बताए । ठेकेदारको नेताहरूसँग साँठगाँठ रहने हुनाले ठेकेदारले कमसल काम र ढिलासुस्ती गर्ने भनाइ उनको छ । नेताहरूको उदासीनता र ठेकेदारको मनपरीकै कारण पनि हालसम्म हुलाकी सकडमा प्रगति हुन नसकेको संयोजक यादवले बताए ।

यसै सडकखण्डअन्तर्गत सिरहा सदरमुकामको महावीर चोकदेखि धनुषा जिल्लाको कमला नगरपालिकाको सघारा चोकसम्म ढुकुचु कन्स्ट्रक्सनले १९ करोड लागतमा सडक निर्माणको काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.