हुलाकी न्यूज,जनकपुरधाम : विपक्षी दलका सांसदहरुले मंगलबार बसेको प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । आफूहरुसँग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै उनीहरुले बैठक अवरुद्ध गरेका हुन् ।
बैठक सुरु हुनेबितिकै नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले विरोध गरेका थिए । उनीहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समन्वय नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका थिए ।
नेपाली काँग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र कुमार सिंहले योजना छनोट गर्नका लागि सिफारिस समिति बनाइएपनि आफूहरुको योजना समावेश नगर्नु सांसदहरुको अपमान रहेको टिप्पणी गरेका हुन् ।
त्यस्तै, नेकपा एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले आफूहरुसँग समन्वय गरी योजना छनोट गरेर अख्तियारी पठाउने निर्णय भएपनि सरकारले आफूखुशी योजना बनाएर सशर्त अनुदानको बजेट पठाएकोमा आपत्ति जनाएका छन् ।
उनले भने, ‘आफूहरुसँग योजना माग गरिएपनि पछि गएर ति सबै योजनालाई रद्दीको टोकरीमा फालेर प्रदेश सरकारले सशर्त अनुदान पठाएको आज मात्रै थाहा पाएँ ।’ उनले प्रदेश सरकारले यस विषयमा ठोस जवाफ नदिएसम्म बैठक अवरुद्ध गर्ने चेतावनी दिए ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार यादवले आफ्नो कार्यकर्ता पाल्ने अभिप्रायले सशर्त अनुदानको बजेटको समेत दुरुपयोग गरिएको आरोप लगाएका हुन् ।
प्रदेशसभा सदस्यहरुले विरोध जनाएपछि सभामुख सरोज कुमार यादवले पटक पटक बस्न आग्रह गरेपनि प्रदेशसभा सदस्यहरुले नमान्दा सदनको कारवाही १ घण्टाका लागि स्थगित गरेका थिए ।