
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लामो समय पार्टीको नेतृत्व गरेका, पटकपटक प्रधानमन्त्री भइसकेका केही व्यक्तिका कारण देश अस्तव्यस्त भएको बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै उनले नाम नतोकिकन ‘चारजनाका कारण देश अस्तव्यस्त भएको’ टिप्पणी गरेका हुन् ।
उनले भने, ‘उहाँहरुलाई आफ्नो अहम्, आफ्नो इगोको चिन्ता छ, देशको होइन ।’ उनीहरुमा अतृप्त भोक, कहिल्यै चित्त नबुझ्ने, कहिल्यै पेट नभरिने, कहिल्यै प्यास नमेटिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देश बिग्रिनुको मुख्य कारण यही नै रहेको दावी गरे ।
‘यो त सत्ता स्वार्थ मात्र हो,’ उनले भने, ‘सत्ता नपाएकाको होइन, पाइसकेकाहरु नै सधैँभरी सत्ता स्वार्थमा केन्द्रित रहे ।’ उनले लोकतान्त्रिक बाटोबाट हिँडेर गए पनि सत्तामा पुग्न सकिने भन्दै असंवैधानिक, अलोकतान्त्रिक, अस्वस्थ प्रक्रियाबाट जान खोजेका कारण समस्या देखिएको बताए ।