हुलाकी न्यूज,जनकपुरधाम : बारामा भएको दाजुभाइको हत्या प्रकरणमा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
बाराको सदरमुकाम कलैयामा स्थानीय २८ वर्षका युवकलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभएको छ।
अनुसन्धानको क्रममा सोही स्थानका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अनुसन्धान जारी रहेकाले पक्राउ परेका व्यक्तिको पहिचान भने अहिले खुलाउन नसकिने मिश्रले बताए ।
‘स्थानीय एकजनालाई दुबै जना बालकको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरेका छौँ,’ उनले भने, ‘उनलाई प्रहरी हिरासतमा राखेर घटनाको समबन्धमा थप अनुसन्धान गरिरहेका छौँ ।’
मंगलबार बिहान कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी जफार अन्सारीका ९ वर्षका छोरा उस्मान अन्सारी र ७ वर्षका छोरा अमिन अन्सारीको शव हत्या गरी फालिएको अवस्थामा फेलापरेको थियो ।
सोमबार साँझ खेल्न भनेर घरबाट निस्किएका दुबै जना बालक रातिदेखि नै बेपता भएका थिए । धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा वडा नम्बर ७ कै मदर्साको निर्माणाधिन भवनमा दुबै जना बालकको शव फेला परेपछि महोत्तरीको बर्दिबासबाट आएको तालिम प्राप्त कुकुरसहितको प्रहरी टोलीले घटनास्थलमा गएर अनुसन्धान गरेको थियो ।