हुलाकी न्यूज,जनकपुरधाम : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेका हुन् ।
कोभिड- १९ संक्रमणका विरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आईसोलेसन सेन्टर खोल्ने-खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।
ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आईसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको छ।
सञ्चारकर्मीसँग मंगलबार कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिए ।
उनले सामान्य भौतिक पुर्वाधार को व्यवस्थामात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्ने चेतावनी दिए ।
उनले भने,‘पछिल्लो समय आईसोलेसनको नाममा मानिसरहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर हामी सबैले बुझ्नुपर्ने विषय चाहीँ मानिसहरु आईसोलेसनमा आफ्नो घरको छुटै कोठामा बस्नु भन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुदैन । स्वास्थ्य जटिलता, अलिकति गाहे भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आईसोलेसन केन्द्रहरु चाहीँ स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्छ कि भन्ने डर छ ।’
उनले थपे,‘ हामी संक्रमणको आशंकामा पुग्यौ भने अलग्गिएर बस्ने, परीक्षण गराउने,संक्रमण पुष्टि भईसकेपछि पनि आफ्नो घर परिवारको अरु सदस्यलाई नभेटेर छुट् बस्ने गर्यौ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को आईसोलेसन सेन्टरहरु स्थापना गर्दा स्वास्थ्यकर्मीहरु, त्यहाँ चाहिने उपकरणहरु, औषधीहरु र त्यहाँ गाहे हुने वित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानी हुने गरी गरेनौ भने हामीलाई गाहे हुन्छ ।’
उनले टोल टोलमा आइसोलेसन सेन्टरका नामा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साच्ची आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफुहरु चिन्तित बनेको बताए ।
उनले आइसोलेसन सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार राख्नै पर्ने स्वास्थ्य सामाग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतिपुर्ण रहेको बताए ।
उनले भने,‘पछिल्लो समयमा टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरु ठूलो मात्रामा खपत हुने गरी खोलिराखेको अवस्थाले हामी अलिकति चिन्तित छौ । ती सामाग्रीहरुको व्यवस्थापन पनि अर्को चुनौतिपुर्ण पाटो हो । त्यहाँबाट निस्कने फोहर व्यवस्थापन अर्को चुनौतिपुर्ण पाटो हो । र जहाँ क्रिटिकल केयरका लागि साँच्चै अस्पतालहरुमा ती सामाग्रहरु चाहिन्छ । ती जनशक्तिहरु छन् भने ती जनशक्तिहरु उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । जहाँ विरामीको क्रिटिकल केयर गर्नुपर्ने आवश्यकता हुन्छ ती ठाउँहरुमा अझै गाहे हुन्छ ।’



