हुलाकी न्यूज, जनकपुरधाम : जनकपुरधामस्थित चन्द्रकला हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचाररत २९ वर्षीय एक युवकको अक्सिजन अभावका कारण सोमबार बिहान ५ बजे मृत्यु भएको छ।अस्पतालमा भएको अक्सिजन आइतबार सकिएपछि आईसीयूमा उपचाररत रौतहटको चन्द्रनिगाहपुर नगरपालिका–३ बनबहरि बस्ने फिरोज मन्सुरीको सोमबार बिहान मृत्यु भएको अस्पतालका म्यानेजर रोशन कुमार यादवले बताउनुभयो ।
गत बैशाख २३ गतेदेखि सोही अस्पतालमा उपचार गराईरहेका उनको शरीरको अक्सिजन लेभल आइतबार राति अचानक ४० मा झरेको अस्पतालमा कार्यरत एक चिकित्सकले बताए ।
उनको उपचारका लागि समयमै अक्सिजन उपलब्ध हुन नसक्दा उनको दुःखद निधन भएको उनले बताए । उनले भने,‘संक्रमितले प्रयोग गरिरहेको सिलिण्डरको अक्सिजन सकियो, अर्को सिलिण्डर दिन नपाउँदा उनको ज्यान गयो ।’‘अक्सिजन सकिएपछि एकैछिन सप्लाई रोकिएको थियो, अन्यत्रबाट अक्सिजन उपलब्ध हुन नसक्दा उनको ज्यान गयो’ यादवले बताए।