हुलाकी न्यूज, जनकपुरधाम : महोत्तरीमा एक २० वर्षीया अपांग युवतीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
महोत्तरीको बलवा नगरपालिका वडा नं. ११ की शारीरिक र मानसिक रुपमा अस्वस्थ रहेकी (पूर्ण अशक्त, हातखुट्ट् बांगो भएको तथा हिँडडुल गर्न असमर्थ र बोल्न पनि नसक्ने) एक २० वर्षीया युवतीलाई घरमा कोही नभएको मौका छोपी ३५ वर्षीय एक पुरुषले बलात्कार गरेका छन्।
गत वैशाख २६ गते ठाउँ बस्ने (बल्वा नगरपालिका वडा नं. ११) निकाल टोल बस्ने ३५ वर्षीय ताहिर भनिने राजाउल्लाह शेषले ती अपांग युवतीलाई बलात्कार गरेका हुन् । उक्त घटनालाई गाउँका केही अगुवाहरुले गाउँमै मिलाउन पीडित परिवारलाई दबाब दिएको बताइएको छ । यद्यपि, पीडित परिवारजनले नमानेपछि आरोपी अहिले फरार भएको हो ।
घटनाबारे कुरा बाहिर आएपछि अहिले गाउँमा पीडित परिवारजनलाई गाउँमै घटना मिलाउने दबाब दिने क्रम बढेको छ । उनीहरु आफ्नो परिवार असुरक्षित भएको र न्यायको लागि पत्रकार, मानवअधिकारकर्मीहरुसँग गुहार मागिरहेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेशकुमार आचार्यले फरार दोषीको खोजी कार्य भइरहेको बताउनु भएको छ । ‘गाउँमा छलफल भइसकेपछि मात्रै हामीकहाँ जानकारी गराएका रहेछन्, ढिला जानकारी प्राप्त हुँदा दोषी फरार रहेको छ,’ उनले भने ।फरार अभियुक्तलाई पक्राउ गरेपछि अनुसन्धान सुरु हुने एसपी आचार्यको भनाइ छ ।



