हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीमा एक प्रहरी जवानको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।  जिल्लाको सम्सी गाउँपालिकास्थित प्रहरी चौकी सम्सीमा कार्यरत २५ वर्षीय प्रहरी जवान जीतेन्द्र साह झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

आँपको रूखमा पासो लगाएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभएको छ । प्रहरी जवान साहको शव प्रहरी चौकीबाट करिब ७ सय मिटर पश्चिम खाली चौरमा झुण्डिएको अवस्थामा मंगलबार बिहान फेला परेको उनले बताए।

प्रहरी जवान साहले आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपि, अनुसन्धान पुरा नहुन्जेल आत्महत्या वा हत्या भन्न नसकिने डिएसपी विष्टले जानकारी दिए।
उनले भने, ‘हिजोसम्म साह ड्युटीमै थिए, बेलुका सञ्चो छैन भनेपछि उनलाई रेस्ट दिएर अरुलाई ड्युटीमा खटाइएको थियो । तर, बिहान अचानक उसको शव भेटेको खबर आयो ।’

पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–१ घर भई ढल्केवरस्थित प्रहरी गणमा दरबन्दी भई विगत ७ महिनादेखि उनी सम्सी प्रहरी चौकीमा कार्यरत थिए । साहको आगामी ७ जेठमा विवाह तय भएको थियो । डिएसपी विष्टले विवाहको तयारीका लागि साह आजै बिदा लिएर घर जाने तयारीमा रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.