हुलाकी न्यूज,जनकपुरधाम : प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिनमा महोत्तरी जिल्लाको अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।
वैशाख कृष्ण औंसी अर्थात आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँमा अवस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो लागेको छ।
धनुषा जिल्लासँग जोडिएको बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थान पौराणिक एवं धार्मिक महत्व बोकेकाले यहाँ हजारौँ महिला पुरुषहरु दर्शनका लागि आउने गरेको स्थानीयवासीको भनाई रहेको छ।
जसको आमा, बुवा नभएकाहरुले यस स्थानलाई आफ्ना आमाबुवाको सम्झनागरी दर्शनगर्ने गर्दछन भने यस अन्धाअन्धी स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गर्दछन ।
रामायणकालमा मातापिताका अनन्य भक्त श्रवणकुमारले आफ्ना तिर्खाएका अन्धाअन्धी आमाबुबालाई बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन पानी ल्याउन नजिकैको महदैया तपनपुरको कमलदहमा गएको बेला राजा दशरथको शब्दभेदी बाँण लागी मृत्यु भएको र आफ्ना छोरा मरेको सुनेर आमाबुबा पनि यसै ठाउँमा प्राण त्याग गरेको किम्बदन्ती रहेको छ।अन्धाअन्धीले प्राण त्याग गरेको दिनदेखि यस स्थान अन्धाअन्धी स्थानको नामले स्थापित एवं चर्चित भएको स्थानीयवासीको भनाई रहेको छ।