हुलाकी न्यूज,जनकपुरधाम : बुटवलको कोरोना विशेष अस्पतालमा संक्रमित बिरामीको धमाधम मृत्यु भएपछि शव व्यवस्थापनमा पनि समस्या भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकैरातमा १३ जना कोरोना संक्रमतिको मृत्यु भएपछि यस्तो समस्या आएको अस्पतालले जनाएको छ । गएराति मृत्यु हुनेमा ६ जना रुपन्देही, ३ जना कपिलवस्तु, तथा प्युठान र नवलपरासीका १ र १ जना रहेका छन् ।
दुई जना सोमबार साँझ मृत्यु भएका पनि त्यही राखिएको छ । अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको ३ जनाको शव उठाउन कोही आफन्त नआएपछि अस्पताल आफैले ३ दिनपछि सनाखत गरि शव व्यवस्थापन गरेको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए ।
बुद्धभुमी कपिलवस्तु, सैनामैना रुपन्देही र सुनवल नवलपरासीका संक्रमितहरुको मृत्युपछि शव उठाउन कोहि नआएपछि अस्पतालले आफै सनाखत गरि आज मात्र शव ब्यवस्थापन गरेको थियो । उनीहरुमध्ये १ जनाको २४ गते र २ जनाको २६ गते मृत्यु भएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल ११ का ४२ वर्षीय पुरुषको सोमबार राती ९ः०८ बजे मृत्यु भएको थियो भने सैनामैना रुपन्देहीका ४९ वर्षीय पुरुषको सोमबार राती ९ बजे मृत्यु भएको थियो ।
त्यस्तै सैनामैना ३ कै ४२ वर्षीय पुरुषको २६ गते राती ८ बजे, बुटवल ११ का ३६ वर्षीय पुरुषको मध्यराती १२ः४५ बजे, कञ्चान ४ रुपन्देहीका ३० वर्षीय महिलाको बिहान २ः५० बजे तथा रुपन्देहीका २१ वर्षीया महिलाको बिहान ९ः०७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। बिष्णु गौतमले जानकारी दिए ।
त्यस्तै बुद्धभुमी कपिलवस्तुका ४० वर्षीय पुरुषको २४ गते राती १२ः३० बजे, बुद्धभुमी कपिलवस्तुकै ४० वर्षीय पुरुषको बिहान ३ः३३ बजे तथा चन्द्रौटा कपिलवस्तुका ३३ वर्षीय पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको छ ।
डा .गौतमका अनुसार कोरोना विशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी ७ का ५० वर्षीय पुरुषको बिहान ४ बजे र सुनवल १० नवलपरासीका ५९ वर्षिय पुरुषको २६ गते बिहान ३:४५ बजे मृत्यु भएको थियो ।
एकै समयमा ठुलो संख्यामा संक्रमितहरुको हताहती भएपछि शव व्यवस्थापनमा समस्या आएको प्रवक्ता डा। गौतमले बताए ।



