हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीको जलेश्वर अस्पतालमा भेन्टिलेटर सेवा संचालन नहुँदा कोरोना संक्रमितको छुट्पटाएको ज्यान गएको छ।

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-४ का ४२ वर्षीय रघुनाथ पाण्डेको मृत्यु भएको मृतकका आफ्न्त वैभव चौधरीले जानकारी दिएका छन्।

मृत पाण्डे सर्लाहीको धनकौल गाउँपालिकाको शिक्षा संयोजक पदमा कार्यरत थिए। बिहीबार श्वासप्रश्वासमा समस्या आएपछि पाण्डेलाई जलेश्वर आस्पतालको आइसुलेसन कक्षमा अक्सिजन दिएर राखिएको थियो। शुक्रबार आरटिजेन्स विधिबाट कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो।

शनिबार राती साँढे ८ बजे उपचारमा संलग्न डाक्टरले थप उपचारका लागि भेन्टिलेटरमा राख्नु पर्ने परिवारजनलाई जनकारी दिएका थिए। ‘एम्बुलेन्स खोज्दा खोज्दै रातिको साँढे १० बज्यो,’ मृतक परिवारका चौधरीले भने, ‘गाउँबाट बल्ल एम्बुलेन्स आइपुग्यो।’ जनकपुर लाग्दै गर्दा बाटोमा संक्रमितको मृत्यु भएको जलेश्वर अस्पताल विकास समितका अध्यक्ष सुरेश पाण्डेले बताए।

अस्पतालमा कोरोना संक्रमितलाई बोक्ने एम्बुलेन्स नहुँदा समस्या भएको छ। अक्सिजन सहितको १५ बेडको अस्थायी कोभिड अस्पताल एक साता अघिदेखि अस्पतालले संचालनमा ल्याइएको थियो।

गत बर्ष जलेश्वर अस्पतालले २ करोड बढीमा ५ वटा भेन्टिलेटर खरिद गरेको थियो। तर, जनशक्ति नहुँदा भेन्टिलेटर थन्किएको छ।

‘जनशक्ति व्यवस्थान गरेर दिन प्रदेश सरकारलाई भन्दा भन्दै थाकिसक्यो,’ अस्पताल विकास समितिका अध्यक्ष पाण्डे भन्छन्,‘तर, कुनै सुनवाइ भएको छैन।’ प्रदेश सरकारले भेन्टिलेटर चलाउने जनशक्ति नदिएर आफू आमरअनसनमा बस्ने उनले चेतावनी दिएका छन्।

महोत्तरीको सदरमुकाममा पर्ने जलेश्वर अस्पतालसँग एउटा मात्रै थोत्रो एम्बुलेन्स छ। ‘निजी संघसंस्थालाई सरकारले एम्बुलेन्स दिन्छ। तर, सरकारी अस्पताल पुरोनो एम्बुलेन्सको भरमा चल्छ,’ अध्यक्ष पाण्डेले भने, ‘अस्पतालमा नर्मल बिरामीका लागि मात्रै एम्बुलेन्स छ। कोराना संक्रमितलाई बोक्न एम्बुलेन्स पनि छैन।’ अस्पतालमा ६० वटा अक्सिजन सिलेण्डर कोरोना संक्रमितका लागि जोहो गरेर राखिएको छ।

हालै प्रदेश सरकारले जलेश्वर अस्पतालमा २३ जना स्वास्थ्यकर्मीको जनशक्तिको अस्थायी जनशक्ति पठाएको छ। त्यसका लागि तीन दिने सूचना अह्वान गरिएको छ। तर, नयाँ जनशक्तिको दरबन्दीमा भेन्टिलेटर संचालन गर्ने जनशक्ति नरहेको जलेश्वर अस्पतालले जनाएको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले भेन्टिलेटर संचालन गर्ने जनशक्ति व्यवस्थान गरिने बताए। ‘प्लेन भएर मात्रै भएन, चलाउने पाइलट पनि चाहियो,’ उनले भने, ‘प्लेन चलाउन हामी पाइलटको व्यवस्थापनमा लागेका छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.