हुलाकी न्यूज,जनकपुरधाम : रौतहट प्रहरीले ५ रुपैयाँभन्दा बढीमा सर्जिकल माक्स बिक्री वितरण गरे कारबाही गर्ने भएको छ । स्थानीय व्यापारीहरूले माक्स बिक्रीमा मनपरी गरेको नागरिकहरूबाट गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले उद्योग वाणिज्य संघलाई मास्कको मूल्य निर्धारण गर्न अनुरोध गरेको थियो ।
सोही अनुरुप रौतहट उद्योग वाणिज्य संघले ५ रुपैयाँभन्दा बढीमा माक्स बिक्री नगर्न सम्पूर्ण व्यापारीहरूलाई पत्रचार गरेको छ ।
यसअघि बजारमा खुल्ला रूपमा सर्जिकल माक्स प्रतिथान १० रुपैयाँमा बिक्री हुँदै आएको छ ।कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि सजिलो उपाय सर्जिकल मास्क नै भएकाले सो मास्कलाई ५ रुपियामा विक्रि गर्न सम्पूर्ण माक्स बिक्रेताहरूलाई आग्रह गरेको रौतहट उद्योग बाणिज्य संघका अध्यक्ष पण्डितप्रसाद जयसवालले बताए ।
यदि कसैले सर्जिकल माक्स ५ रुपैयाँभन्दा बढी मूल्यमा बेचेको गुनासो आएमा कानुनअनुसार कारबाही हुने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धि विक्रम शाहले जानकारी दिएका छन् ।
यसैगरी उद्योग वाणिज्य संघ रौतहटले खाद्यान्न सामग्रीको कृतिम अभाव नगर्न व्यवसायीहरूलाई अपिल गरेको छ । उद्योग वाणिज्य संघ रौतहटले एक सुचना जारी गर्दै कोरोना संक्रमणको मौका छोपी यो संकटको घडीमा अति आवश्यक खाद्यान्नलगायतका सामग्रीहरूको कृतिम अभाव सृजना नगरी उचित मुल्यमा बिक्री वितरण गर्न अध्यक्ष जयसवालले ब्यावसायीहरूलाई अनुरोध गरेका छन् ।