हुलाकी न्यूज,काठमाडौं : काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पुयाउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित विशेष बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले गरेको निर्णयबारे जानकारी दिँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले भने, “हामीले सहकार्य गरेको नेपाल एम्बुलेन्स सेवा १०२ ले कोभिड पोजेटिभ भएका बिरामीलाई निःशुल्क अस्पताल पु–याउने छन् ।
यसबाहेक अन्य समस्या भएका बिरामीलाई अस्पताल लैजान महानगरपालिकाका विभिन्न क्षेत्रमा अहिलेलाई १० वटा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने छौँ ।”
एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन र सीधै चालकसँग सम्पर्क गर्ने व्यवस्था हुनेछ । महानगरपालिकाका अनुसार डाइलोसिसलगायत दीर्घ रोग र आकस्मिक सेवा लिन अस्पताल जानुपर्ने व्यक्तिले अस्पताल पुग्न र आउन सवारीको समस्या भोग्नु पर्दैन ।



