हुलाकी न्यूज,बीरगन्ज :  सामुदायिक संस्था सानो पाइलाले नारायणी अस्पताललाई भेन्टिलेटरहरु उपलब्ध गराएको छ । नेपाल भेन्टिलेटर सर्भिस (गैरनाफामुलक कम्पनी) सँगको सहकार्यमा नारायणी अस्पतालमा एक महिनाका लागि भेन्टिलेटरहरुको व्यवस्था गरेको हो ।

मंगलबार नारायणी अस्पतालमा एक कार्यक्रमकाबिच सानो पाइलाकी सचिव डा. सुष्मा तिवारीले नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सञ्जय ठाकुरलाई भेन्टिलेटर हस्तान्तरण गरिन् । हस्तान्तरण कार्यक्रममा नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दास, डेप्युटी डाईरेक्टर डा. एनामुल हक, सानो पाइलाका सञ्चालन प्रमुख जय साह, कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफ, स्रोत तथा परिचालन प्रमुख भाजु पटेलगायतकाको उपस्थिती रहेको थियो । भेन्टिलेटर हस्तान्तरण गर्दै सचिव डा. तिवारीले अवस्था सामान्य नभए भेन्टिलेटरहरुको समायवधि थप गर्न सकिने बताइन् ।

बढ्दै गएको संक्रमितहरुको संख्यालाई मध्यनजर गर्दै अस्पतालमा आवश्यक पर्ने थप स्वास्थ्य सामाग्रीको जोहो गर्न सानो पाइला अग्रसर रहेको जिकिर गरिन् । सानो पाइलाले उपलब्ध गराएको भेन्टिलेटरहरु हाल कोभिडका बिरामीहरुका लागि सबभन्दा उपयोगी प्रकारको रहेको कोभिड संयोजक डा. सरोज रोशन दासले बताए । उक्त भेन्टिलेटरहरु कोभिड आईसियु र एसडियुमा जडान गरिसकिएको उनको भनाई छ ।

यसअघि सोमबार काठमाडौंमा आयोजित एक समारोहबीच दुई संस्थाका प्रतिनिधिले भेन्टिरलेटरको अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको सानो पाइलाद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । सानो पाइलाका तर्फबाट कार्यक्रम तथा सेवा प्रमुख रौनक राज सर्राफ तथा नेपाल भेन्टिलेटर सर्भिसका तर्फबाट कार्यक्रम संयोजक सचेत गुरुंगले अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.