हुलाकी न्यूज,जनकपुरधाम :  प्रदेश नम्बर २ को नाम र राजधानीको लागि प्रदेशसभा सचिवालयमा १३ वटा प्रस्ताव दर्ता भएको छ । नामको लागि ६ र राजधानीका लागि ७ वटा प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका निमित सचिव रञ्जित यादवले जानकारी दिए ।

यसअघि २०७६ साल चैतमा प्रदेशको नाम र राजधानीका लागि शुरु गरिएको प्रक्रिया कुनै पनि नाममा दुई तिहाई नपुग्दा नामाकरण हुन सकेको थिएन। पुनः यो प्रक्रिया शुरु गर्नका लागि प्रदेश सभा सचिवालयले बैशाख ३ देखि ९ गते बिहीबारसम्मका लागि प्रस्ताव आह्वान गरेको थियो ।

दोश्रो चरणमा प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउन वैशाख ३ गतेदेखि ९ गते बिहीबार दिउँसो ३ बजेसम्मको लागि प्रस्ताव आह्वान गरिएको थियो । जसमा नामको लागि प्रदेशसभामा आवद्ध दल तथा सांसदहरुबाट मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश नाम दर्ता भएको छ भने राजधानीका लागि जनकपुरधामको पक्षमा ५ र बीरगन्जकाे पक्षमा २ वटा प्रस्ताव दर्ता भएको सचिव यदावले जानकारी दिए ।

सत्तारुढ दल जनता सामाजवादी पार्टी (जसपा) को तर्फबाट पार्टीका सचेतक शैलेन्द्र यादव र नेकपा माओवादी केन्द्रको संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश दर्ता गराएका छन् । त्यस्तै नेकपा एमाले माधव समूहका तर्फबाट सांसद प्रमोद कुमार यादवले जानकी, ओली समूहका तर्फबाट प्रदेश सांसद शारदा देवी थापाले जनक र नेपाली काँग्रेसका शिवचन्द्र चौधरीले मिथिला भोजपुरा, नेपाली काँग्रेसकै प्रदेशसभा सदस्य राजेश्वर प्रसाद साहले मध्य मधेश प्रदेश नामकरण तोक्न प्रस्ताव दर्ता गराएका छन् ।

काँग्रेस सांसद पार्टीको निर्णय भन्दा बाहिर गएर गरेको मध्य मधेश प्रदेश प्रस्तावको समर्थनमा काँग्रेसकै प्रदेश सांसदहरु शंकर प्रसाद चौधरी, ओमप्रकाश शर्मा र आशिया देवी थरुनीले गरेका छन् ।

त्यस्तै राजधानीमा ७ वटा प्रस्ताव दर्ता भएको छ । काँग्रेसकै प्रदेश सांसद साह र जनता समाजवादी पार्टीका प्रदेश सांसद सिंगासन साह कलवारले बीरगन्जलाई प्रदेशको स्थायी राजधानी तोक्नुपर्ने प्रस्ताव दर्ता गराएका छन् ।

सत्तारुढा दल जसपा, प्रतिपक्षी दल एमाले, काँग्रेस र माओवादी लगायत सबै दलले जनकपुरधामलाई स्थायी राजधानी तोक्न प्रस्ताव दर्ता गराएको सचिवालयले जनाएको छ । दोस्रो पटक थालिएको प्रक्रिया अन्तर्गत प्रदेशको नाम मधेश, जानकी, जनक, मिथिला–भोजपुरा र मध्य मधेश हुनुपर्ने प्रस्ताव दर्ता भएको छ ।

दोस्रो पटकको प्रक्रियामा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै रुपमा ‘मधेश’ प्रस्ताव दर्ता गराएका छन् । नेपाली कांग्रेसले मिथिला भोजपुरा प्रस्ताव दर्ता गराउँदा नेपाली कांग्रेसकै केही सांसदले ‘मध्य मधेश’ प्रस्ताव दर्ता गराएका छन् ।

जनकपुरधाम र बीरगन्ज राजधानीका लागि प्रस्ताव

प्रदेशको स्थायी राजधानीका लागि दुई ठाउँको नाम प्रस्ताव गरिएको छ । अधिकांश दलले जनकपुरधामलाई स्थायी राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् भने केहि सांसदले बीरगंजलाई राजधानी बनाउनुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् ।

सत्तारुढ दल जसपा, प्रतिपक्षी दल एमाले, कांग्रेसर माओवादीले जनकपुरधामलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव दर्ता गराएको छ ।

काँग्रेसका सांसद राजेश्वर साह र जनता समाजवादी पार्टी (जसपा) का सांसद सिंहासन साह कलवारले वीरगंजलाई स्थायी राजधानी बनाउन प्रस्ताव दर्ता गराएका छन् ।

प्रदेशमा कुल १०७ सांसदमध्ये नेकपा माओवादी केन्द्रले आफ्ना चार जना सांसदलाई बर्खास्त गरेपछि अब १०३ जना सांसद छन् । यस अनुसार प्रदेशको नामाकरण र स्थायी राजधानीका निम्ति ६९ जना सांसदको आवश्यक्ता पर्दछ । जुन कुनै पनि दलसँग छैन् । सत्तारुढ जसपासँग ५५, एमालेसँग २१, नेपाली कांग्रेससँग १९, माओवादी केन्द्रसँग ७ र नेपाल संघीय समाजवादीसँग १ जना सांसद छन् ।

प्रदेशको नाम ‘मधेश’ राख्नुपर्ने भन्दै जसपा र माओवादीले प्रस्ताव दर्ता गराएपनि यी दुबै दलको सांसदको संख्या ६२ मात्रै पुग्छ । यसमा ७ जना अझै आवश्यक पर्नेछ ।

प्रदेश सभा सचिवालयमा प्रदेशको नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता भएपछि यसका निम्ति प्रक्रिया शुरु हुँदैछ । प्रदेश सभाको बैठक शुक्रबार (आज) कै लागि बोलाइएको छ । र, बैठकमा नाम र राजधानीको बिषयमा छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.