हुलाकी न्यूज,जनकपुरधाम : सिन्धुली जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ ।

यही वैशाख ९ गते विहीबार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनवटा वडामा आजदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए।

उनले भने, ‘हामीले नगरका तीनवटा वडामा कोरोना भाइरस सङ्क्रमण बढी फैलन सक्नेतर्फ सचेत हुँदै लकडाउन गर्ने निर्णय गरेका हौँ ।

’ उनका अनुसार नगरपालिकाका वडा १, २ र ४ मा वैशाख १० देखि १७ सम्म लकडाउन घोषणा गरिएको छ ।

दुधौली नगरपालिका–१ का एक व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएपछि नगरको विपद् व्यवस्थापन समितिको बैठकले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो ।

लकडाउनको घोषणा भएका क्षेत्रमा अति आवश्यक सेवा -एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसलबाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वडा कार्यालय (वडा नं ४ बाहेक) बजार, होटल, यातायातका सेवा र अन्य व्यवसाय पनि बन्द रहनेछ । लकडाउनको उल्लङ्घन गरेमा कानूनबमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाभर सभा सम्मेलन, गोष्ठी सङ्घसंस्थाका कार्यक्रममा सरकारले तोकेको मापदण्डअनुसार २५ भन्दा बढी मानिस सहभागी नगराई सामाजिक दूरी कायम गरी कार्यक्रम नगर्न आग्रह गरेको छ ।

जिल्लाको गोलन्जोर गाउँपालिकाले पनि कोरोनाको सङ्क्रमण फैलनसक्ने जनाउँदै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम हुन नदिन खनियाँखर्क, खुर्कोट, ग्वाल्टार र च्याकुटार बेँसीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने गाउँपालिकाले जनाएको छ ।

ती क्षेत्रमा रहेका विद्यालय, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सम्बद्ध निकायका कर्मचारीलगायत सबैमा सेवा लिँदा–दिँदा र सामाजिक गतिविधि गर्दा स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यानमा राख्दै सेवा आदानप्रदान निर्देशन दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.