हुलाकी न्यूज,जनकपुरधाम : नयाँ भेरियन्ट सहितको कोरोना महामारीको नेपालमा समेत संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले धनुषामा पनि कडाई गरेको छ । संक्रमणको दोस्रो लहर सुरु भएसँगै धनुषामा पनि कडाई गरिएको हो ।

जिल्ला संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले सेवाग्राहीहरुको अत्यधिक भीडभाड हुने सरकारी कार्यालयहरुमा भीडभाड कम गरी संक्रमण जोखिम न्युनिकरण गर्न अनलाइन लगायतका अन्य वैकल्पिक प्रणालीको उपयोग गर्ने, स्थानीय तह अनुसार आलोपालो प्रणाली लागु गर्ने, नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका हुन् ।

बैठकले जिल्लाको विभिन्न स्थानमा हुने र भईरहेको हाट बजारहरुमा अत्यधिक भीडभाड हुने हुँदा बजार केन्द्र भन्दा अलि खुल्ला स्थानमा मापदण्डको पालना गर्न लगाई समय तोकी बिहान ७ बजेदेखि १० बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्ने÷गराउने र सोको सम्बन्धित स्थानीय तह तथा प्रहरीले अनुगमन गर्ने भएका छन् ।

प्रादेशिक कोभिड–१९ प्रयोगशाला जनकपुरधाममा जनशक्तिको न्यूनता भएको कारण पिसिआर परिक्षणको दायरा बढाउन कठिन भएकोले थप जनशक्तिका लागि उक्त ल्याबबाट प्रस्ताव भएका अत्यावश्यक पदहरुको पूर्ति गरी परिक्षणलाई प्रभावकारी बनाउन सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय समेत गरिएको प्रजिअ वास्तोलाले बताए ।

विद्यालय, क्याम्पसलगायत शिक्षण संस्थाको सम्बन्धमा नेपाल सरकारको बैशाख ६ गतेको निर्णयमा आधारित भई संक्रमणको विद्यमान अवस्था र जोखिमको विश्लेषण गरी वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्ने तथा परीक्षा सुरु भइसकेको अवस्थामा स्वास्थ्य मापदण्डको पालना गरी वैशाख १० गते भित्र सम्पन्न गर्ने व्यवस्था मिलाउने निर्णय भएको प्रजिअ बास्तोलाले बताए ।

धनुषाको स्थानीय तहको सीमानाका भारतसँग जोडिएको हुनाले सीमानाकामा अनिवार्य रुपमा हेल्प डेस्क स्थापना गरी संचालनमा ल्याउने तथा आवश्यकता अनुसार होल्डीङ सेन्टरको व्यवस्था गर्ने निर्णय भएको छ । साथै उपमहानगरपालिकालाई ३०, नगरपालिकालाई २० र गाउँपालिकालाई कम्तिमा १५ वटा आइसोलेशन बेड तथा क्वारेन्टिनको व्यवस्था गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वास्तोलाले जानकारी दिएका हुन् ।

बैठकले गरिव, विपन्न, श्रमिक, मजदुर, ज्येष्ठ नागरिकलाई निशुल्क मास्कवितरणको अभियानका लागि उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, गैसस, धार्मिक, सामाजिक र परोपकारी संघसंस्थाहरुलाई अनुरोध गर्ने तथा बजारमा मास्क, सेनिटाइजर, कोभिड–१९ मा प्रयोग हुने औषधीहरु सहुलियतपूर्ण दरमा उपलब्ध गराउने, कालोबजारी र अभाव हुन नदिन उद्योग वाणिज्य संघ धनुषा र नेपाल केमिस्ट ड्रग एशोसिएसनले संयोजन र समन्वय गर्ने निर्णय समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.