हुलाकी न्यूज,जनकपुरधाम : केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ।

शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान व्यूरोले अनुसन्धान गर्दा उनीहरु पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक सहकुल थापाले बताए।

पक्राउ पर्नेहरुले एसएलसी लगायतको शैक्षिक प्रमाणपत्र नक्कली बनाई एमबीबीएस अध्ययनको लागि बंगलादेश जान नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएका थिए।

पक्राउ पर्नेहरुमा महोत्तरी जिल्लाका सुभाषप्रसाद शाह र पल्लवी सिंह, धनुषाका मोहम्मद शाहिद राजा, मनाङका दीपेन्द्र गौतम, सप्तरीका अखिलेश प्रसाद देव र मोहमद सिद्दिकी, ललितपुरका फराज हुसेन खाँ रहेको सिआईबीले जनाएको छ।

उनीहरुमध्ये मोहमद सिद्दिकी, सुभाषप्रसाद शाह, मोहम्मद शाहिद राजा र दीपेन्द्र गौतमले विभिन्न अस्पतालमा काम गरिरहेका थिए।

दीपेन्द्र गौतम पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत थिए। मनाङको चामे गाउँपालिका–१ का गौतमको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली भएको सिआईबीले जनाएको छ।

सुभाषप्रसाद शाह जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा, मोहम्मद शाहिद राजा दीर्घायु गुरु हस्पिटल चावहिलमा र मोहमद सिद्दिकी न्यूरो हस्पिटल विराटनगरमा कार्यरत थिए। अन्य तीन जना भने कुनै संस्थामा कार्यरत नरहेको निर्देशक थापाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.