हुलाकी न्यूज,काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतकै भएकाले निहुँ खोज्नुको अर्थ नभएको तर्क गरेका छन् ।

माओवादीले सरकारलाई दिएको समर्थन कायमै रहेको स्थितिमा सरकारको विकल्पबारे कुरा गर्नुको अर्थ नभएको उनको भनाइ छ ।

‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिएको छैन । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन’ उनले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निउँ खोज्नेकुरा छैन ।’

उनले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको पनि बताएका छन् । आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभए पनि नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताएका हुन् ।

उनले भने, ‘हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदको लागि लालायित छैनौं । तर राजनीतिक परिस्थितिबाट यदी भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडी हट्दैनौँ ।’

सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । सर्वोच्च अदालतले संसद पुनस्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.