हुलाकी न्यूज,काठमाडौँ :१९ औं संस्करणको आहा रारा गोल्डकप प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।
आज पहिलो खेलमा घरेलु क्लब सहारा र सशस्त्र प्रहरी बलको एपीएफ भिड्दै छन् ।
पहिलो क्वाटरफाइनल रहेको यस खेलमा सहाराले एपीएफलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
सहाराले १२ औं संस्करणको आहा रारा गोल्डकप जितेको थियो ।
तीन पटकको फाइनलिस्ट सहारा एक पटक पनि फाइनल यात्रा तय गर्न नसकेको एपीएफलाई आज पनि हार चखाउने दाउमा छ ।
यी दुई टोलीबीच आहा रारा गोल्डकप इतिहासमा दुई पटक मात्र भेट भएको छ । १२ औं संस्करण जित्दा सहाराले एपीएफलाई क्वाटरफाइनलमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो ।
त्यस खेल सहाराले १-० को झिनो अन्तरमा जितेको थियो । १७ औं संस्करणमा पनि यी दुई टोलीबीच क्वाटरफाइनलको खेल भएको थियो ।
१७ औंं संस्करणको पहिलो खेलमा एपीएफले १२ औं संस्करणको भोगेको हारको बदला लिएको थियो । निर्धारित खेल एक-एक खेलको बराबरीमा सकिएपछि त्यस खेल टाइब्रेकरमा धकेलिएको थियो । अन्त्यमा खेल एपीएफले ५-४ को जित हात पारेको थियो ।
दोश्रो खेलमा भोलि ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुन खेल्नेछन् । तेस्रो क्वाटरफाइनलमा संकटा र मनाङ मर्स्याङ्दी क्लब खेल्दा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार र नेपाल पुलिस खेल्ने आयोजकले जनाएको छ ।
चैत २८ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा एक करोड २९ लाख १ हजार आम्दानी र एक करोड एक लाख ८१ हजार बचत हुने आशा आयोजकको छ । बचत रकम सहाराको एकेडेमीमा खर्च गरिनेछ । हाल एकेडमीमा २४ बालक आश्रित छन् ।
यस्तै सहारा क्लब पोखराले राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गर्ने कार्यक्रम पनि छ । सहाराले सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान २०७७ बाट रिजाललाई सम्मान गर्न लागेको हो ।
पुरस्कारको राशी नगद ३५ हजार र दोसल्ला सहित सम्मान गर्न लागिएको सहाराका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । सहाराले हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । अघिल्लो वर्ष राष्ट्रिय टोलिका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिएको थियो ।
प्लेयर टु वाचः त्रिदेव गुरुङ (सहारा क्लब)
सहारा क्लबका लागि मिडफिल्डर त्रिदेव गुरुङको प्रदर्शन उल्लेख्य रहन सक्नेछ । केही दिन अगाडि काठमाडौंमा सम्पन्न थ्री नेसन्स कपबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका गुरुङ सहराका खेलाडी हुन् । थ्री नेसन्स कपमा उनले नेपालले खेलेको ३ खेलमै सुरुवाती सेटमा बसेर खेलेका थिए ।
उनले गत सिजनमा पनि सहरालाई सेमिफाइनलमा पु¥याउन उल्लेख्य भूमिका खेलेका थिए । बक्स टु बक्स खेल्ने गुरुङले अघिल्लो संंस्करणमा दुई खेलमा २ गोल गरेका थिए । क्वाटरफाइनलको खेलमा सहाराले ब्रिगेड ब्वाइजसँगको खेलमा पुनरागमन जित दर्ता गर्ने क्रममा उनको प्रदर्शन उल्लेख्य थियो ।



