हुलाकी न्यूज,जनकपुरधाम : महोतरीका झा दम्पतीको हत्या काण्डमा एकै परिवारका तीनजनालाई प्रहरीले पक्राउ गरेका छन्।
पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्या आरोपमा स्थानीय तरादेवी झा र उनका दुई छोरा कैलाश झा र विकास झालाई पक्राउ गरीएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेका छन् भने गतको शुक्रबार तीनैजनालई प्रहरीले पक्राउ गरेको थियो ।
तारदेवीको घरमा घरबाट झा दम्पतीको जलेको कपडा, शव लुकाएको र जलाएको बाकस (ट्रंक) र जलाएका दाउरा लगायतका सामग्री बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताएका छन् । सोहि आधारमा तीनैजना घटनामा संलग्न देखिएकोले पक्राउ गरिएको उपरीक्षक आचार्यको भनाइ छ ।

स्थानीयका अनुसार तीनैजना झा दम्पतीका नातेदार रहेका हुन् । झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साताअघि छिमेक रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका साथै भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ ।

अहिलेसम्म घटनामा सातजना पक्राउ परिसकेका छन् । घटनामा अझै केहि व्यक्तिहरुको संलग्नता हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।



