हुलाकी न्यूज,जनकपुरधाम : धार्मिक एवम् ऐतिहासिक १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम आईपुगेको हो ।

गत शनिबारदेखि धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेको माध्यमिकी परिक्रमाका यात्रीहरु आज बिहान बिहानै जनकपुरधाम आईपुगेका हुन् ।

परिक्रमामा नेपाल र भारतका विभिन्न स्थानका हजारौं साधुसन्त एवं श्रद्धालुहरुको सहभागिता रहेको छ ।

जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी अर्थात् भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मिथिला माध्यमिकी परिक्रमा विधिवत रुपमा सुरु भएको थियो ।

मिथिलाको महाकुम्भ भनेर चिनिने यस महामहोत्सवमा हजारौंको सहभागिता रहने गरेपनि यस धार्मिक यात्रालाई व्यवसायिक रुप दिन नसक्नु सरकारको कमजोरी रहेको जानकी मन्दिरका सहायक महन्थ राम रोशन दासले बताए ।

 

नेपाल भारत दुबै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सदभावको प्रतीक बनेको यस परिक्रमा यात्रामा नेपालको १३ तथा भारतको २ गरी जम्मा १५ वटा विश्रामस्थलहरु छन् ।

मिथिला महात्म्यअनुसार १८औं शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाका रुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १ सय ७ एवं भारतको २६ गरी १ सय ३३ किलोमिटर भूमिमा पैदलयात्रा तय गर्ने परम्परा रहेको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामको चारवटै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । प्रत्येक वर्ष झैं यस वर्षपनि परिक्रमामा श्रद्धालुहरूको भीड देखिएको छ ।

मिथिला महात्म्यका अनुसार मिथिलामा बृहत, मध्यमा र अन्तगृह गरी तीनवटा परिक्रमाको उल्लेख पाइन्छ । भोली आइतबार बिहान श्रद्धालुहरु अन्तगृह घुमेर परिक्रमालाई समापन गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.