हुलाकी न्यूज,जनकपुरधाम : महोत्तरीका वृद्ध दम्पती आफ्नो कोठाबाटै रहस्यमय बेपत्ता भएको घटनाको यथाशिघ्र छानबिन गर्न माग गर्दै विराटनगरमा प्रदर्शन गरिएको छ । सो घटनाको वास्तविक सत्यतथ्य छानबिन गर्न माग गर्दै मैथिल ब्राह्मण महासभा युवा कार्य समिति मोरङले विराटनगरमा प्रदर्शन गर्दै नेपाल सरकारलाई ज्ञापन पठाएको छ ।

महासभाले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत नेपाल सरकार तथा गृहमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । यसअघि जिल्ला प्रशासन कार्यालयनजिकै रहेको आदर्श माध्यमिक विद्यालय परिसर अगाडिको सडकबाट र्‍याली निकालिएको थियो ।

प्लेकार्ड सहित निकालिएको र्‍यालीका सहभागीले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका थिए । १० फागुनको राति आफ्नै घरको बेग्लाबेग्लै कोठामा सुतिरहेका महोत्तरीको पिपरा गाउँपालिका- ५ सोहडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ५८ वर्षीया गीता देवी झा ११ फागुनको बिहान रहस्यमय ढंगले बेपत्ता भएका थिए ।

बेपत्ता भएका वृद्ध दम्पतीको खोजी गर्दै उनको घर पुग्दा आफन्तले कोठामा रगतका छिटा फेला पारेका थिए भने झा दम्पती सुतेको खाट, झुलसमेत कोठाबाट नभएको ब्राम्हण महासभा युवा समिति मोरङका अध्यक्ष मनोजकुमार मिश्रले जानकारी दिए ।

घटना भएको ३ साता बितिसक्दासमेत घटनाको यर्थाथ विवरण आउन नसकेका कारण संस्थागत रूपमा दबाब दिने आवश्यकता सिर्जना भएको अध्यक्ष मिश्रले बताए । कोठामा रगतका छिटा भेटिनु र ओछ्यानसमेत गायब गरिएका कारण हत्या गरिएको हुनसक्ने उनले बताए ।

कोठाबाट केही वस्तुलाई घिसारेर लगिएको जमिनमा दागसमेत देखिएको उनले बताए । कार्यक्रममा विभिन्न मैथिल संघसंस्था अबद्ध महिला पुरुष तथा सामाजिक अगुवाको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.