हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश–१ को राजधानी विराटनगरमा जुत्ताचप्पल व्यापार मेला सुरु भएको छ ।
फुटवेयर एशोसिएसन अफ नेपालले आयोजना गरेको मेलाको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गरेका हुन् ।
मेलामा बिएफ डियर हिल, शिखर सुज, कोशेली सुज, क्रसरोड सुज, रेम्बो सुज, रोयल सुज, फास्ट वाक सुज, रन सुज, स्मार्ट सुज, म्याजिक सुज र हाइलाइफ सुजले आ–आफ्ना स्टल राखेका छन् ।
ती १२ वटा उद्योगहरूले मेलामा ५ हजार बढी मोडेलका जुत्ताचप्पलहरू प्रदर्शन तथा बिक्रीमा राखेका छन् । २० बढी स्टल राखिएको मेलामा न्यूनतम १ सयदेखि १० हजार रूपैयाँसम्मको जुत्ताचप्पल प्रदर्शन तथा बिक्रीमा राखिएको आयोजक फुटवेयर एशोसिएसन अफ नेपालका सदस्य रुद्र न्यौपानेले बताए ।
१ महिने मेला अवधिमा १० करोड बढीको व्यापार गर्ने लक्ष्य राखिएको आयोजक समितिले जनाएको छ । मेलामा विभिन्न कम्पनीका जुत्ता चप्पलहरूमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ ।
यसवर्षको मेला आउँदा उपभोक्ताले विगतभन्दा फरक अनुभव गर्न पाउने विराट फुटवेयर एक्स्पो २०७७ का संयोजक होमनाथ उपाध्यायको भनाइ छ ।



