अधिकांश नेताहरु पार्टी कार्यालय बालकुमारी पुगिसकेका बेला बैठक स्थगित भएको सूचना जारी गरिएको हो। अर्को बैठक कहिले बस्ने भन्ने मिति तोकिएको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर नयाँ सरकार बनाउने आकलन गरिरहेको समयमा जसपाले अनिश्चितकालका लागि बैठक स्थगित गरेका हो।
बैठक स्थगित भएपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले तयारी नपुगेपछि स्थगित गर्नुपरेको बताए। उनले अर्को बैठक अब होलीपछि मात्र बस्ने जानकारी दिए। यस वर्षको होली चैत १५ र १६ गते परेको छ। किन आकस्मिक रुपमा बैठक स्थगित भयो भन्ने पत्रकारहरुको प्रश्नमा उनले तयारी नपुगेको जवाफ दिए। तुलसीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा बस्ने तय भएको बैठक अचानक स्थगित भएको हो।
बिहीबार बिहान बसेको पदाधिकारी बैठकमा दुई पक्षबीच मतभेद बढेपछि कार्यकारिणी समितिको बैठक स्थगित भएको जसपाका एक नेताले बताए। जसपामा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नुपर्ने पक्षमा छन् भने बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई ओली सरकारको विकल्प खोज्नुपर्ने अडानमा छन्।
जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य छन्। जसमध्ये तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट २५ जना र तत्कालीन समाजवादी पार्टी नेपालबाट २६ जना रहेका छन्। दुई पक्ष आ आफ्नै अडानमा बसेपछि पार्टी फुटमा जाने खतराका कारण उनीहरुले तत्काल बैठक बसेर निर्णय नगर्ने रणनीति लिएको देखिन्छ। जसपाका नेता मनिषकुमार सुमनले विभिन्न समितिका प्रतिवेदन र तयारी नपुगेकाले बैठक स्थगित भएको र अर्को बैठक बस्ने कुनै मिति नतोकिएको बताए।




