हुलाकी न्यूज,सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न-३ धनकौल(पुर्वी) स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका एक शिक्षकलाई आफ्नै विद्यालयका प्राधानाध्यापकले गुन्डा लगाएर कुटपिट गरेका छन्।
पिडित शिक्षक राजिब महतो सोमबारकै बिहान १० बजे धनकौक(पुर्वी) कै स्थानीय बासिन्दा समेत रहेका प्रअ हरिनारायण कुशवाहाले सहकर्मी शिक्षक र विद्यार्थीहरुकै अगाडी कुटपिट तथा गाली बेइज्जती गरि विद्यालयबाट निकालेको उक्त विद्यालयका शिक्षक चन्द्रनगर गाउँपालिका वडा न-३ बरकुर्वा निवासी राजिब महतोले बताएका छन् ।
प्रअ कुशवाहाले सोमबार बिहान १० बजे नेपाल राष्ट्र बैंकमा आफ्नो र प्रअ कुशवाहाको नाममा संचालन भएको विद्यालयको खाताबाट शिक्षकहरुलाई तलब खुवाउनु छ भनि खाताबाट रकम झिक्नको लागि आफुसँग ब्ल्यांक चेकमा सही गराउन खोजेको तर सही गर्न नमानेपछि उनले गाउँकै चारजना गुन्डा केटाहरुलाई विद्यालयमा बोलाएर कुटपिट गरि विद्यालयको परिसरबाट धक्का दिएर बाहिर निकालेको पिडित शिक्षक महतोले सुनाए ।
गुन्डा केटाहरुको कुटाइबाट पिडित महतोको शरिरमा भित्री चोटपटक लागेको घटनाका प्रत्यक्षदर्शी समेत रहनु भएकी स्थानीय एक सहकारी संस्थामा कार्यरत उनका भाउजु संगिता देवीले बताए ।प्रअ कुशवाहा उक्त ठाउँका स्थानीय बासिन्दा भएकाले यसभन्दा अघिपनि आफुलाई धम्की तथा डरत्रास देखाएर ब्ल्यांक चेकमा हस्ताक्षर गराइसकेको पिडित महतोले बताए । उक्त विद्यालयमा प्रअ कुशवाहाको मनमानी चल्ने गरेकोले विरोध गर्न खोज्दा गुन्डा लगाएर शिक्षकहरुलाई धम्काउने गरेको उनले गुनासो गरे ।
महतो अहिले न्यायका लागि जिल्ला प्रशासन , हरिपुर्वा नगरपालिका ,नगरपालिका अन्तर्गतको शिक्षा शाखा र पत्रकारहरुलाई गुहारिरहेका छन्। उनले प्रअ कुशवाहालाई कार्यवाहीको माग गरेर नगरपालिका र शिक्षा शाखामा लिखित निवेदन दिइसकेका छन् भने प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिने तयारी गरेका छन् ।



