हुलाकी न्यूज,जनकपुरधाम : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब संसद् चल्न नसक्ने बताएका छन्। झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा बुधवार बोल्दै नेता कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानुको विकल्प नभएको बताएका हुन्।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भए पनि अब संसद् चल्न नसक्ने बताउँदै कोइरालाले देशलाई निकास दिन निर्वाचनको विकल्प नरहेको तर्क गरे।

‘नेपाल कम्युनिस्ट पार्टी पुरानै अवस्था (एमाले र माओवादी केन्द्र) मा फर्किएका छन्, अब सजिलै संसद् चल्न सक्दैन’, उनले भने, ‘संसद् चल्न अप्ठ्यारो परिस्थिति आएकाले अब देशलाई अनिर्णयको बन्दी बनाउनुहुँदैन। मध्यावधि निर्वाचनमार्फत निकास दिनुपर्छ।’

डा. कोइरालाले अबका गतिविधि र कार्यक्रम चुनावमुखी हुनुपर्नेमा जोड दिएका छन्। त्यसैअनुरुप तयारी गर्न पनि उनले कांग्रेस कार्यकर्तालाई निर्देशन दिए। ‘पर्ख र हेरको अवस्थामा वर्तमान परिस्थिति छैन। कांग्रेसले देशलाई निकास दिन केही महत्त्वपूर्ण निर्णय तत्काल लिनु आवश्यक छ’, उनले भने।

कोइरालाले कांग्रेसको १४ औँ महाधिवेशनमा आफू सभापतिको बलियो दाबेदार रहेको बताए। त्यसकै लागि आफु जिल्ला दौडाहामा हिँडिरहेको पनि उनले बताएका छन्। बुधबारै बूढानीलकण्ठमा आयोजित एक कार्यक्रममा वर्तमान सभापति शेरबहादुर देउवाले पनि फेरि नेतृत्व लिने बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.