हुलाकी न्यूज,काठमाडौं :जबर्जस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाइदिन्छौ भनी रकम ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं.८ बस्ने ५८ वर्षीय सुर्यलाल खड्का र धादिङ जिल्ला गंगाजमुना गाँउपालिका वडा नं. १ स्थायी घर भई हाल पोखरा २५ हेम्जा बस्ने ३९ वर्षीय कमन भन्ने कमान बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हालले जानकारी दिए ।
१ करोड रकम माग
पक्राउ परेका उनीहरुले जबर्जस्ती करणी मुद्धाका प्रतिवादीलाई छुटाइदिने भन्दै एक करोड माग गरेको हमालले जानकारी दिए । प्रहरी, वकिल र अदालतसँग आफुहरुको सेटिङ रहेकोले एक करोड रकम दिए केस मिलाइदिन्छौ नत्र १५ वर्ष जेल जान्छाै भनी रकम माग गरेको हमालको भनाई छ ।
१३ लाखको चेक र एक लाख १० हजार नगद सहित पक्राउ
पक्राउ परेका दुई जनाले ति प्रतिवादीलाई झुटो आश्वासन तथा भर विश्वास दिलाई १२ लाखको चेक र एक लाख १० हजार नगद लिई ठगी गरेको हमालले जानकारी दिए । सोही सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा १७ राष्ट्रबैंक चोक स्थित एक खाजाघरबाट पक्राउ गरेको थियो ।
त्यसै गरि विभिन्न बैंकको चेक तथा भौचरहरु र विभिन्न कम्पनीका चार थान मोबाइल समेत उनीहरुवाट बरामद भएको प्रहरीको भनाई छ । उनीहरुलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान अगाडि बढाइएको हमालले जानकारी दिए ।



