हुलाकी न्यूज, काठमाडौँ : निजी क्षेत्रको ऊर्जा उत्पादकले नेपाल–भारत विद्युत् व्यापारका लागि आवश्यक नीतिगत तथा अन्य सुधारका कार्यलाई तीव्रता दिन आग्रह गरेका छन् ।
नेपालको विद्युत्को अन्तरदेशीय व्यापारको मुख्य सरोकारवाला भारतले पछिल्लो समय यससम्बन्धी कार्यविधि तयार गरेपछि निजी क्षेत्रले आवश्यक पूर्वतयारीका लागि सरकारलाई घच्घच्याएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरू संस्था(इप्पान)ले बिहीबार पत्रकार सम्मेलन गरी भारतले हालै जारी गरेको अन्तरदेशीय विद्युत् व्यापारका लागि खरिद–बिक्री स्वीकृति तथा प्रवद्र्धन कार्यविधि नेपालका लागि अत्यन्तै लाभकारी भएको र त्यो लाभ ग्रहण गर्न आवश्यक पहलका लागि आग्रह गरेको हो ।
नेपाल सरकारले भारतसँग २०१४ मा विद्युत् व्यापार सम्झौता गरिसकेको छ । त्यस्तै क्षेत्रीय ऊर्जा व्यापार सहजीकरण गर्न सन् २०१८ मा भारतको विद्युत् मन्त्रालयले अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी निर्देशिका संशोधन गरिसकेको छ । त्यस्तै भारतको केन्द्रीय विद्युत् नियमन आयोगले मार्च २०१९ मा जारी अन्तरदेशीय विद्युत् व्यापारसम्बन्धी नियमावली जारी गरेपछि केन्द्रीय विद्युत् प्राधिकरणले यसै साता खरिदबिक्रीसम्बन्धी कार्यविधि जारी गरेको हो ।
यो व्यवस्थाले भारत छिमेकी राष्ट्रसँग विद्युत् आयात÷निर्यात गर्न र भारत हुँदै तेस्रो मुलुकमा समेत विद्युत् आदान÷प्रदान गर्न तत्पर रहेको र क्षेत्रीय ऊर्जा व्यापारलाई मूर्त रूप दिएको विश्लेषण इप्पानको छ ।
इप्पानले संसद्मा विचाराधीन विद्युत् विधेयक ऊर्जा व्यापारसम्बन्धी प्रावधानसहित तत्काल पारित गर्ने व्यवस्था गर्नुपर्ने बताएको छ । त्यस्तै क्षेत्रीय विद्युत् व्यापारलाई पूर्णता दिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्पmत अन्तरदेशीय विद्युत् व्यापारको निर्देशिका बनाउन र विद्युत् नियमन आयोगमार्पmत नियमावली जारी गर्न अब ढिला गर्न नहुने इप्पानका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो ।
इप्पानको यसअघिको कार्यसमितिको पहलमा स्थापना भएको नेपाल पावर एक्सचेन्ज लिमिटेडलाई ऊर्जा व्यापारका लागि आवश्यक स्वीकृति दिन पनि माग गरिएको छ । नेपाल र भारत सरकारबीचको संयुक्त संयन्त्रको आगामी बैठकमा ऊर्जा व्यापारसम्बन्धी बाँकी विषयलाई कार्यान्वयनको दिशामा अगाडि बढाउने र नेपाल, भारत र बङ्गलादेशको समेत त्रिदेशीय संयन्त्र सिर्जना गर्न आवश्यक देखिएको इप्पानले आँैल्याएको छ ।



