हुलाकी न्यूज,काठमाडौँ : बुद्ध एयरले धार्मिक पर्यटन प्रवर्द्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सीधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाई धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्यमा उडान विस्तार गर्न लागिएको कम्पनीले जनाएको छ ।
बुद्धले जनकपुरबाट अयोध्यामा विस्तार भइरहेको विमानस्थलमा सीधा उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा निवेदन दिएको छ । प्रदेश नं २ सरकारलाई पनि बोधार्थ पठाइएको छ ।
तीन वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला जनकपुर र अयोध्यालाई भगिनी सहरका रूपमा विकास गर्ने, रामायण सर्किट बनाउनेलगायत सहमति भएको थियो ।
जनकपुरधामबाट अयोध्यामा निर्माणाधीन विमानस्थलको उडान ५० मिनेटको हुनेछ । यस उडानबाट दुवै देशका धार्मिक पर्यटकले मनग्य लाभान्वित हुने कम्पनीको विश्वास छ ।



