हुलाकी न्यूज,जनकपुरधाम : सिरहामा निर्घात कुटपिटबाट एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा सिरहा नगरपालिका–१८ इटारी बस्ने नन्दलाल यादवको छोरा २२ वर्षिय अजितकुमार यादव छन् ।

निर्घात कुटाइबाट शक्त घाइते भएका अजितलाई उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् ।

आपसी विवादका कारण इटारीकै सारहु नाता पर्ने मुनेश्वर यादव र अजितबीच गएको फागुन १४ र १५ गते पटकपटक विवाद भएको स्थानीयको भनाइ छ । आपसी विवादका कारण दुई दिनमा तीन चार पटक झगडा भएको स्थानीय बताउँछन् ।

‘झगडामा मुनेश्वर लगायत उनले ल्याएका केही व्यक्तिले अजितलाई निर्घात कुटे,’ अजितका भाई नविनकुमार यादवले भने, ‘कुटाईबाट अजितको शरीरबाट रगत बाहिर नआए पनि भित्री भागमा विशेष असर परेको कारण मृत्यु भएको हुन सक्छ ।’

गत फागुन १५ साँझको झगडापछि अजित ब्याकुल भएर लगडी गोठमा रहेको दिदिको घर गयो र सोही राती तीन बजे अजितलाई सास लिन अप्ठयारो भएको जानकारी पाएर आफुहरुले अस्पताल लग्दै गर्दा मृत्यु भएको उनले बताए ।

पत्नी अल्काकुमारी यादव र अजितबीच सामान्य भनाभन हुँदा अल्का मुनेश्वरको घर पुगेकी थिइन् । अल्कालाई सम्झाई-बुझाई आफ्नो घर ल्याउन प्रयास गर्दा मुनेश्वरले अजितलाई निर्घाट कुटपिट गरेको नविनले बताए ।

अजितलाई कुटपिट गर्नेहरुको नामसहितको किटानी जाहेरी दिन जाँदा प्रहरीले सो जाहेरी दर्ता नगरी ०७७ फागुन १६ को दिनभर प्रतिक्षा गराएको पीडित परिवारले गुनासो गरेका छन् ।

कुटपिटको कारण मृत्यु भएको जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिए । उनले पोष्टमार्टमको रिपाेर्ट र थप अनुन्धान भएपछि मात्र विशेष कुरा बताउन मिल्ने बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.