हुलाकी न्यूज,जनकपुरधाम : अघिल्लो साता घरबाटै वेपत्ता भएका महोत्तरी पिपराका बृद्ध दम्पतिको अवस्था अहिलेसम्म पत्ता लागेको छैन । ११ फागुनमा पिपरा गाउँपालिका–५ सहोडवास्थित घरमासुतेको ठाउँबाट हराएका ६६ बर्षीय मुसाफिर झा र उनकी पत्नी ६० बर्षीया गीतादेवीको अपहरण भएको आशंका गरिएपनि प्रहरीको अनुसन्धानबाट हालसम्म केही खुलेको छैन ।
मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी झा आफ्ना श्रीमती, बुहारी र नातिनातिनासँग बस्दै आएका थिए । उनी लोहारपट्टी नगरपालिकाको मोही जग्गामा साक्षी बसेका थिए । उनी साक्षी बसेकै कारण जग्गावाला पक्षले अपहरण गरेको हुन सक्ने आंकलन गरिएपनि प्रहरी अहिलेसम्म अनुसन्धान भइरहेको बताउँछ ।
‘अहिलेसम्म आर्थिक, सामाजिक, पारिवारिक पक्षलाई हेरेर अनुसन्धान गरेका छौं’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले भने, ‘घटनामा जग्गा विवाद पनि हुन सक्छ । हामी सबै पक्षलाई हेरेर अनुसन्धान गरिरहेका छौं ।’ अनुसन्धान गर्ने क्रममा आएका कतिपय कुरा औपचारिक रुपमा भन्न नमिल्ने उनले बताए ।
छोरी बेबी मिश्र आमाबुवा वेपत्ता भएको खबर सुनेर माइत आएकी छन् । उनी माइतमै भाउजुसँग बसेर कहिले आमाबुवा आउने भन्ने बाटो हेरिरहेकी छन् । ‘मेरो आमाबुवाको अवस्था पत्ता लगाइदिन म प्रहरी प्रशासन सबैसँग अनुरोध गर्छु’ उनले भनिन् । onlinekhabar



