हुलाकी न्यूज,काठमाडौँ : नेपालमा कोरोना भाइरस सङ्क्रमण सुरु भएको एक वर्षपछि कोरोनाविरुद्धको खोप लगाउने अभियान अगाडि बढेको छ । यसले समाजका सबै तप्कालाई आशावादी बनाएको छ भने ज्येष्ठ नागरिकलाई झनै उत्साहित बनाएको छ ।

खोपबारे विभिन्न कुरा आइरहेपछि ढुक्कले खोप लगाउन ज्येष्ठ नागरिकको सुझाव छ । प्राथमिकताका आधारमा खोप लगाउने क्रममा अब ज्येष्ठ नागरिकले खोप लगाउने पालो आएको छ तर कतिपय ज्येष्ठ नागरिकले प्राथमिकताका आधारमा खोप लगाइसक्नुभएको छ । खोप लगाउन बाँकी ज्येष्ठ नागरिक खोपप्रति उत्साहित हुनुहुन्छ ।

कतिपय ज्येष्ठ नागरिकले पत्रकारको हैसियतले समेत कोरोनाविरुद्धको खोप लगाइसक्नुभएको छ । त्यसैक्रममा हुनुहुन्छ, वरिष्ठ पत्रकार भैरव रिसाल । उमेरले ९३ वर्ष पुगिसक्नुभएका रिसालले केही चिकित्सकको सल्लाहमा खोप लगाएको जानकारी दिनुभयो । सुरुमा खोपबारे भ्रामक विषयलाई प्रचार गरिए पनि आफूलाई खोपमा पूर्ण विश्वास रहेको उहाँले बताउनुभयो । आफूले चिनेका चिकित्सकद्वय डा. सरोज धिताल र डा. अर्जुन कार्कीसँंग परामर्श गरेको उहाँले जानकारी दिनुभयो ।

वरिष्ठ पत्रकार रिसालले भन्नुभयो, “चिकित्सकले लगाउन सुझाव दिएका कारण लगाएँ ।” आफूलाई मधुमेह, उच्च रक्तचाप कुनै पनि रोग नभएको भन्दै उहाँले प्रोस्टेट र पार्किसन्सको समस्या भने रहेको बताउनुभयो । कोरोनाविरुद्धको खोपले सबैलाई हर्षित तुल्याएको र त्यसमा पनि ज्येष्ठ नागरिकको जीवनलाई सुुरक्षित बनाएको बताउँदै उहाँले भन्नुभयो, “खोपले ज्येष्ठ नागरिकलाई उत्साहित बनाएको छ ।”
“खोप लगाउनासाथ घर आएर सिटामोल खाएँ,” रिसालले थप्नुभयो, “खोप लगाएपछि हुनसक्ने असर ज्वरो आउने, बान्ता हुने, जिउ दुख्नेलगायतका कुनै समस्या भएन ।” खोप लगाइसके

पछि खोप शाखा प्रमुख झलक गौतमले फोन गरेर आफ्नो स्वास्थ्य अवस्थाबारे बुझेको जानकारी पनि उहाँले दिनुभयो ।
यस्तै ७६ वर्षीय वरिष्ठ पत्रकार पुरु रिसालले पनि खोप लगाउनुभएको छ । उहाँले वैज्ञानिक क्षेत्रले असाध्य मेहनत गरेर आविस्कार गरेको खोपप्रति आपूmले पूर्ण विश्वस्त भएर खोप लगाएको जानकारी दिनुभयो । “मलाई मधुमेह छ, औषधि नियमित खाइरहेको छु,” पत्रकार रिसालले थप्नुभयो, “खोप लगाएको ठाउँमा अलिअलि दुखे पनि अरू केही भएन ।”
खोप लगाएपछि हुनसक्ने कुनै पनि लक्षण नदेखिएको भन्दै उहाँले दुईचक्की सिटामोल सुरुमै खाएकाले ज्वरोसमेत नआएको बताउनुभयो । “पहिला पहिला हैजाविरु

द्धको खोप लगाइन्थ्यो,” उहाँले अनुभव सुनाउनुभयो, “त्यस्तै केही पनि भएन, अब दोस्रो चरणको खोपको प्रतीक्षामा छु ।”
भक्तपुरकी लक्ष्मी पौडेल उमेरले ७० वर्ष कटिसक्नुभएको छ । उहाँले कोरोनाविरुद्धको खोप लगाइसक्नुभयो । पौडेललाई भने ज्वरो आएको थियो । उहाँले विश्वासका साथ कोरोना खोप लगाएको जानकारी दिनुभयो ।

सरकारले फागुन २३ गतेदेखि वृद्धवृद्धालाई कोरोनाविरुद्धको खोप लगाउँदै छ । उमेर ५५ वर्षमाथिका व्यक्तिलाई खोप लगाउने अभियानमा शिक्षकलाई पनि कोरोनाविरुद्धको खोप लगाउन लागिएको हो ।
कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरेको सरकारले यही फागुन २३ देखि देशभरका सबै शिक्षक र प्राध्यापकलाई पनि खोप लगाउने भएको हो । खोप शाखा प्रमुख डा. गौतमले वृद्धवृद्धा, शिक्षक, प्राध्यापकबाहेक यातायात क्षेत्रका मजदुर (चालक तथा सहचालक)लाई पनि खोप लगाइने जानकारी दिनुभयो ।
अहिले देशमा ५५ वर्षमाथिका व्यक्तिको सङ्ख्या ३७ लाख बढी छ । सामुदायिक तथा निजी शिक्षण संस्थामा कार्यरत शिक्षक तथा प्राध्यापक, कर्मचारी तथा सहयोगीलाई खोप दिने योजना रहेको भन्दै गौतमले वृद्धवृद्धाबाहेकको सङ्ख्या करिब चार लाख भएको अनुमान व्यक्त गर्नुभयोे ।

भारतले अनुदानमा दिएको १० लाख खोपबाहेक सरकारले आफँैले खरिद गरेको अर्को १० लाख डोज खोप नेपाल आइसकेको छ । कुल २० लाख डोजमध्ये बाँकी १० लाख डोज खोप भने आउने प्रक्रियामा छ । पहिलो चरणमा खोप लगाएकाहरूको दोस्रो मात्रा वैशाखको दोस्रो हप्तामा हुने उहाँले बताउनुभयो । मन्त्रालयले माघ १४ देखि खोप लगाएकाहरूको दोस्रो मात्रा आगामी वैशाखको ७ देखि १५ सम्ममा सुरु गर्ने योजना बनाएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, नर्स, चिकित्सक, सरसफाइकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरूलाई लगाइएको खोपको प्राथमिकताका आधारमा पहिलो चरणको दोस्रो प्राथमिकतामा पत्रकार, कूटनीतिक नियोगका कर्मचारी, यूएन एजेन्सीका कर्मचारी, जिल्लास्थित सरकारी तथा बैङ्कमा कार्यरत कर्मचारीलाई खोप लगाउने कार्य सम्पन्न भइसकेको छ ।
यो अवधिमा आइपुग्दासम्म साढे चार लाखले पहिलो चरणको खोप सेवा पाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा खोप लगाएको आठदेखि १२ हप्तासम्म अर्को खोप लगाउँदा प्रभावकारी हुने अनुसन्धानात्मक सुझाव आइसकेकाले आठ हप्तापछि मात्र लगाउने निर्णय गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.