हुलाकी न्यूज,काठमाडौं :  ठूलालाई ढोग गर्ने संस्कार परापूर्व कालदेखि चल्दै आइरहेको छ । पुत्रले आफ्ना मातापितालार्ई र बुहारीले सासुका साथै श्रीमान्लाई ढोग गर्ने चलन धेरै पुरानो हो । यो चलन धेरै वा थोरै सबै जातिमा छ । ठूलाबडा अर्थात् सम्भ्रान्त परिवारमा ढोग गर्ने चलन अझ बढी छ । उनीहरूले आफूभन्दा ठूलालाई दर्शन गरेँ भन्दै शिर निहु¥याउँछन् । ठूलाबडाले पनि ढोग्नेको शिरमा हात राखी दिँदै चिरञ्जीवी भएस्, भाग्यमानी भएस् आदि भनी आशिष दिन्छन् तर आजकलका छोराछोरी र बुहारीले आफूभन्दा ठूलालाई ढोग गर्न त्यति ध्यान दिएको देखिँदैन । एक किसिमले भन्ने हो भने योे चलन हराउँदै छ ।

हामी दिन प्रतिदिन आधुनिक बन्दै गएका छौँ । यस क्रममा हामीले यस्ता पुराना परम्परा, मान्यता र चलन धेरै नै छोड्दै गइरहेका छौँ । यस्ता कतिपय चलन हाम्रै निम्ति फाइदाजनक छन् भन्ने भेउ पनि पाउँदैनौँ । बरु त्यसको ठाउँमा नयाँनयाँ चलन र नयाँनयाँ व्यवहार चलाउन खोज्छौँ ।
हाम्रो पुरानो परम्पराअनुसार छोराले आमाबाबु र बुहारीले सासूलाई बिहान सबेरै उठेर उनीहरूको गोडा ढोग्नुपर्छ । यो परम्पराले आफूभन्दा ठूला र मान्यवरलाई सम्मान गर्नुपर्छ भनेर सिकाउँछ । आजसम्म पनि कतिपयले यो चलनलाई चलाइरहेका छन् । यसरी शिरले नै छोएर ढोग्दा धार्मिक रूपमा मात्र होइन, अन्य कुरामा पनि हामीलाई धेरै नै फाइदा हुन्छ तर यो कुरो नबुझेर यस्ता चलनलाई दिन प्रतिदिन छोड्दै गएका छौँ ।
हामी सबैलाई थाहा भएकै कुरा हो कि ढोग्दा आफूभन्दा ठूलाको गोडा छुनुपर्छ । जब कसैले हाम्रो गोडा छोएर ढोग्यो भने हामीले के गर्नुपर्छ ? उसलाई हामीले आशिष दिनुपर्छ । साथै देवतालाई पनि सम्झनुपर्छ । ढोग गर्न आउनेलाई हामीले भाग्यमानी भएस्, सुख शान्ति मिलोस् आदि भनी आशिष दिनुपर्छ । यसरी आशिष दिँदा आशिष दिनेले भित्री हृदयदेखि नै हर्षित भई दिनुपर्छ । खास गरेर हामीले हाम्रो खुट्टाले अन्जानमै पनि कसैलाई नछोओस् भन्ने प्रयास गरिरहनुपर्छ । यदि हाम्रो खुट्टाले अन्जानमै पनि कसैलाई छोयो भने नराम्रो हुने अर्थात् अशुभ हुने मान्यता छ । हाम्रो खुट्टाले कसैलाई छोयो भने हामीलाई दोष लाग्छ । यो दोषबाट बच्न हामीले मनमनै भगवान्सँग माफी माग्नुपर्छ । अनि त्यस मानिससँग पनि माफी माग्नुपर्छ । आफूभन्दा ठूला अर्थात् थकालीलाई आदर, सत्कार, मानसम्मान गरेर ढोग्नु अत्यन्तै उत्तम हुन्छ भन्ने मान्यता छ । ढोग गर्दा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा धेरै नै फाइदा छ । जस्तो कि श्रद्धापूर्वक ढोग गरेँ भनी गोडा छुनु आफूभन्दा ठूलाको अगाडि नतमस्तक हुनु हो । यसबाट हामीलाई विनम्रता प्राप्त हुन्छ । अनि मनमा शान्ति हुन्छ । यसका साथै ढोग गरेँ भन्नेले आफूभन्दा ठूलालाई आफ्नो आचरणले प्रभावित पार्न पनि सक्छ । यसैगरी गोडा छोएर ढोग गर्नेबित्तिकै हामीलाई दुवै हातले हाम्रो शिरमा छोएर भाग्यमानी भएस् भनेर मान्यवरले आशिष दिन्छन् । यो प्रक्रियामा हाम्रो हातले मान्यवरको गोडा छोइरहेको हुन्छ । अनि मान्यवरको सकारात्मक ऊर्जा सञ्चार भएर आशिषका रूपमा हाम्रो शरीरमा प्रवेश गर्छ भन्ने मान्यता पनि छ । यसले हाम्रो आध्यात्मिक र मानसिक विकासमा पनि सहयोग पु¥याउँछ ।
शास्त्रमा भनिएको छ कि हामीले दिनदिनै ठूलालाई अभिवादन गर्दै ढोग्दा हाम्रो आयु, विद्या, यश र शक्ति वृद्धि हुन्छ । वैज्ञानिक न्युटनको नियमअनुसार संसारमा सबै चीज गुरुत्वाकर्षणको नियममा रहेको हुन्छ । हाम्रो शरीरमा पनि यही नियम लागू हुन्छ । हाम्रो शरीरको शिरलाई उत्तरी ध्रुव र खुट्टालाई दक्षिणी ध्रुव मानिएको छ । गुरुत्वाकर्षणको ऊर्जा अर्थात् चुम्बकीय ऊर्जा जहिले पनि उत्तरी धु्रवबाट प्रवेश गरेर दक्षिणी धु्रवमा प्रवाहित भई आफ्नो चक्र पूरा गरिरहेको हुन्छ अर्थात् हाम्रो शरीरको उत्तरी धु्रव शिरबाट सकारात्मक ऊर्जा गएर दक्षिणी धु्रव गोडामा प्रवाहित भइरहन्छ । दक्षिणी धु्रवमा यो ऊर्जा असीमित मात्रामा स्थिर भइरहेको हुन्छ अनि गोडा ऊर्जाको केन्द्र बन्न पुग्छ । गोडामा हातले छोएर उक्त स्थिर भइरहेको ऊर्जा ग्रहण गर्नुलाई नै हामीले ढोग गर्ने वा चरण स्पर्श गर्ने भन्दछौँ ।
वास्तवमा यो हाम्रो धेरै पुरानो संस्कार हो । देवताको पालादेखि नै यो चलन चल्दै आएको कुरा हामीले शास्त्रमा पढ्दै आएका छौँ । गोडा धोएर ढोग गर्दा गोडामा भएको ऊर्जाले हामीलाई धेरै नै फाइदा हुन्छ । खुट्टाको औँलामा पनि धेरै नै ऊर्जा प्रसारित गर्ने शक्ति रहेको हुन्छ । यस्तो पनि मान्यता छ कि मान्यवरको खुट्टा स्पर्श गर्दा, नियमित रूपमा ढोग गर्दा प्रतिकूल भइरहेका ग्रहहरू पनि अनुकूल हुन्छन् । यसको मनोवैज्ञानिक पक्ष यो पनि छ कि जुन लक्ष्य प्राप्त गर्ने हो त्यो मनमा राखेर ढोग गर्दा उक्त लक्ष्य पूरा हुने शक्ति प्राप्त हुन्छ । त्यसो त ढोग गरेँभन्दा मान्यवरको भाग्यमानी भएस् भनी आशिष पाउँदा पनि सकारात्मक सोचको विकास हुन्छ ।
यो एक किसिमले सूक्ष्म व्यायाम पनि हो । खुट्टामा छुँदा शारीरिक कसरत पनि हन्छ । निहुरिएर खुट्टामा छुँदा शरीर लचकदार हुन्छ । अगाडि निहुरिँदा शरीरमा रक्तप्रवाह बढ्छ । जसले गर्दा स्वास्थ्यमा निकै फाइदा पु¥याउँछ । ढोग गर्दा एउटा फाइदा यो पनि छ कि हामीसँग भएको अहङ्कार कम हुन्छ । अहङ्कार कम हुनु भनेको शरीरमा भएको नकारात्मक ऊर्जा कम भएर जानु पनि हो । यही कारण हाम्रा पुर्खाहरूले मान्यवरलाई ढोग गर्ने संस्कार चलाएका हुन् ।
आज आएर नेवार समुदायमा पनि अन्य समुदायमा जस्तै ढोग गर्नुको साटो नमस्कार भन्न चलन चल्न थालेको छ तर ढोग गरेँ भनी शिर निहु¥याउने नेवारी महिलाको सङ्ख्या पनि कम छैन । कतै सभा समारोह वा भोजभतेरमा नेवारका आफन्त जम्मा भएको ठाउँमा आफ्नो शिर निहु¥याउने थकालीलाई ढोग गरेँ भन्ने नेवारहरू अझै पनि छन् । यो संस्कारलाई बचाइराख्नुपर्छ ।गोरखाापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.