हुलाकी न्यूज,काठमाडौं : व्यवस्थापनले श्रमजीवी पत्रकारको हक अधिकारको स्थायित्व गर्नुको साटो उल्टै रोजीरोटीबाटै विमुख हुने अबस्था सिर्जना गराएको भन्दै राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत श्रमजीवी पत्रकारहरू आन्दोलित भएका छन् ।
साउनदेखि विभिन्न माग राखेर पटक–पटक मौखिक र लिखित रुपमा ध्यानाकर्षण गराउँदा पनि राससका अस्थायी, करार र ज्यालादारीमा कार्यरत श्रमजीवि पत्रकारका माग पूरा गराउन व्यवस्थापनले अटेरी गरी पेशा नै गुमाउनुपर्ने अबस्था सिर्जना गरेकाले बाध्य भएर आन्दोलिन हुनु परेको पीडित पत्रकारले बताएका छन् ।
पहिलो चरणमा माग पूरा गराउन साङ्केतिक रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरी ध्यानाकर्षण गराउँदा सुनुवाई नभएपछि श्रमजीवी पत्रकारको संयुक्त संघर्ष समितिको बैठकले विहीबारदेखि दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको संयोजक रमेश गिरीले जानकारी दिएका छन ।
यसअघि फागुन ६ गते पहिलो चरणको आन्दोलन घोषणा गर्दै उनीहरूले फागुन ७ गते राससको हिरक महोत्सवमा सहभागिता नजनाउने निर्णय गरी साङ्केतिक विरोध गर्दै माग प२रा गराउन पाँच दिनको समयसीमा दिएका थिए । त्यसमा व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपरेको संयोजक गिरीले बताए ।
सञ्चार मन्त्रालयले राससमा कार्यरत श्रमजीवी पत्रकारका माग सम्बोधन गर्न रासस व्यवस्थापन पक्षलाई पटक–पटक निर्देशन दिए पनि व्यवस्थापन पक्षले त्यसलाई लत्याउँदै आएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले श्रमजीवी पत्रकारको माग सम्बोधन गरेर मात्रै अन्य प्रक्रिया अघि बढाउन निर्देशन दिए पनि व्यवस्थापन पक्षले अटेरी गरेर पदपूर्ति प्रक्रिया अघि बढाएकोमा पत्रकारले आपत्ति जनाएका छन् । मन्त्री गुरुङले पत्रकारसँग भएको छलफलमा समेत स्थायित्वको सुनिश्चितता गरिने आश्वासन दिएका थिए ।
राससको हिरक महोत्सवका क्रममा उनले तत्काल समस्या समाधान गर्न व्यवस्थापनलाई निर्देशन समेत दिएका थिए । समितिका संयोजक गिरीका अनुसार दोस्रो चरणको आन्दोलनअन्तरगत रासस केन्द्रीय कार्यालयमा फागुन १३ र १४ गते कालोपट्टी बाँधेर काम गर्ने, फागुन १५ र १६ गते कालो मास्क लगाएर प्रदर्शन गर्ने र फागुन १७ गते रासस केन्द्रीय कार्यालयमा धर्ना दिनेलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् ।
उनीहरूले आन्दोलनको जानकारी नेपाल पत्रकार महासंघ, प्रेस संगठन नेपाल, प्रेस युनियन नेपाललगायत सञ्चारसँगसम्बन्धित संघसंगठनलाई समेत दिइसकेका छन् ।
दोस्रो चरणको आन्दोलनपछि पनि रासस व्यवस्थापन पक्षले मागको सुनुवाई नगरे रासस प्रशासन शाखा, महाप्रबन्धक र अध्यक्षको कार्यकक्षमा तालाबन्दीलगायत कडा आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् ।
संविधानको मौलिक हकमा रोजगारीको हकको सुनिश्चितता गरिएको र श्रमजिवी पत्रकार ऐनले पत्रकारको रोजगारीको ज्ञारेन्टी गरेपनि रासस व्यवस्थापनले संविधान र कानूनको बर्खिलाप हुने गरी पदपूर्ति प्रक्रिया अघि बढाएको पीडित पत्रकारले बताएका छन् ।
श्रमजीवी पत्रकार ऐन २०५१ ९संशोधन २०६४०ले पनि ती पत्रकारको रोजगारीको सुनिश्चिता गरेको सन्दर्भमा त्यसलाई वेवास्ता गर्दै व्यवस्थापन पक्षले श्रमजीवी पत्रकारविरुद्ध हुनेगरी कार्य प्रक्रिया अघि बढाएको जनाइएको छ ।
बिहीबार दोस्रो चरणको आन्दोलनको ज्ञापनपत्र बुझ्दै राससका महाप्रबन्धक ओपेन्द्र शर्माले पत्रकारको मागका विषयमा आफू गम्भीर रहेको र समस्या समाधानमा पहल भइरहेको जानकारी दिएका छन ।
राससको नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष प्रेमप्रसाद उपाध्यायले पत्रकारहरूले उठाएका माग जायज रहेकोले तत्काल सम्बोधन गर्न व्यवस्थापन पक्षसँग माग गरेका छन । उनले माग सम्बोधनका लागि पहल गर्ने आश्वासन समेत दिएका छन ।
पत्रकारको मागका विषयमा राससभित्र रहेका कर्मचारी संघ संगठनले ऐक्यवद्धता जनाइसकेका छन् ।
पत्रकारहरूले रोजगारीको स्थायित्व हुनुपर्ने, विनियमावली संशोधन गरेर कर्मचारी परिभाषाभित्र समेट्नुपर्ने, कार्यरत पत्रकारलाई खुला प्रतिष्पर्धामा सहभागी हुने अधिकारको सुनिश्चितता हुनुपर्ने, विगतमा राससमा गरिएको अभ्यासअनुसार समान तह खुला आन्तरिक प्रतिष्पर्धाद्वारा स्थायी प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग राख्दै आएका छन् ।
यसअघि विक्रम संवत २०७२ मा राससमा कार्यरत ३२ जना पत्रकारलाई सोही प्रक्रियाद्वारा स्थायी गरिएको थियो ।



