हुलाकी न्यूज,काठमाडौँ : दक्षिण एसियामै पहिलोपटक नेपालले माटोको डिजिटल नक्सा सार्वजनिक गरेको छ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त डिजिटल नक्सा सार्वजनिक गरेका हुन्।

नक्सा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपालतर्फको यात्रामा सहयोग पुग्ने बताए।

‘कृषिमा ६५ प्रतिशत जनसंख्या आबद्ध रहेका छन्। तर अर्थतन्त्रमा २७/२८ प्रतिशत मात्रै रहेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘कृषिलाई आधुनिकीकरण गर्नुपर्छ। अहिलेको आबद्ध संख्या घटाउनुपर्छ।’

ओलीले संगठित रूपमा उत्पादन गरेमात्रै विदेशमा निर्यात गर्न सकिने बताए।

‘हामी उपभोक्ता भयौँ, उत्पादक भएनौँ। बाहिरबाट ल्याएर कमिसन खाई बेच्नु व्यापार होइन। आफूले उत्पादन गरेको सामग्री बिक्री गर्नु व्यापार हो’, उनले भने।

कृषि तथा पशुपन्छी मन्त्री पद्मा कुमारी अर्यालले सार्क क्षेत्रमा पहिलोपटक नेपालमा डिजिटल नक्सा सार्वजनिक गरेको बताइन्। नेपालमा कृषिको विकासका लागि नक्साले सहयोग पुग्ने उनको भनाइ छ।

‘माटो परीक्षणको लागि माटो बोकेर हिँड्नुपर्दैन’, मन्त्री अर्यालले, ‘घरमै बसेर आफ्नो माटो परीक्षण गर्न सकिन्छ।’

कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीले कृषिको व्यवसायीकरण गर्न सहयोग पुग्ने बताए।

नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले अमेरिकी आर्थिक सहयोगमा डिजिटल नक्सा निर्माण गरेको हो।

यो नक्सा नेपालको सबै प्रदेशको प्रतिनिधित्व हुने गरी ५६ जिल्लाबाट कुल २३ हजार २ सय ७३ वटा माटोको नमूनाहरूको परीक्षण गरी विश्लेषणको आधारमा तयार गरिएको छ।

माटाको डिजिटल नक्सा भनेको माटोमा रहेका विभिन्न तत्व वा गुणहरू देखाउनका लागि जीपीएसका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा हो।

माटोमा रहेका तत्वहरू र तिनलाई वातावरणीय कारणबाट पर्ने प्रभाव समेतलाई गणितीय तथा तथ्यांकीय मोडेलको माध्यमबाट प्रयोगशालामा विश्लेषण गरिएका माटोको नतिजाको आधारमा तयार पारिने यस्ता नक्साले माटोसम्बन्धी विविध सूचना दिने गर्छन्।

डिजिटल नक्साले बाली उत्पादकत्व बढनउन, माटोमा रहेको अम्लीयपना घटाउने तथा माटोमा प्रांगारिक पदार्थ बढाउने जस्ता काम गर्न सहयोग पुग्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.