हुलाकी न्यूज,काठमाडौं : हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा केही वृद्धि गरेको छ ।

नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेकाले हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।

निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ बाट वृद्धि भई ६७ रुपैयाँ कायम गरिएको छ ।

हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं–धनगढीका लागि ९० रुपैयाँ बढेको छ । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० रुपैयाँ वृद्धि गरिएको छ भने काठमाडौंबाट हुने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.