हुलाकी न्यूज, जनकपुरधामः
जनकपुरधाममा महंगो स्कुल मानिएको अक्षर विद्या मन्दिरले लकडाउनको अवधिमा विद्यालय बन्द हुँदासमेत विभिन्न शुल्कको नाममा अभिभावकहरुबाट लाखौं रकम लिन थालेपछि अभिभावकहरुले प्रतिवाद गरेका छन्।

विद्यार्थीमा पढाई नहुँदा पनि र प्रयोग नभएका विषयमा पनि शुल्क उठाउन थालेपछि अभिभावकहरुले सामूहिक बैठक गरी विद्यालयको प्रतिवाद गरेका छन्।

अक्षर विद्या मन्दिरको मनोमानीबाट पीडित अभिभावकहरुले जनकपुरधाम उपमहानगरपालिकाको न्यायिक समितिमा उजुरी दिने बताएका छन्।

२०७७ कार्तिक २७ गते प्याबसन, एनप्यावसन, एमप्यावसन र जनकपुरधाम उपमहानगरपालिकाका पदाधिकारीहरुको बैठकले लकडाउन अवधिको ५ महिनाको शुल्क मिनहा गर्ने निर्णय गरेको थियो।

पीडित एक अभिभावकका अनुसार २०७७ बैशाखदेखि भदौंसम्म ५ महिनाको मासिक शुल्क र यातायात शुल्क नलिने निर्णय भएको थियो। तर, केही महिनाअघिदेखि अक्षर विद्या मन्दिरले विभिन्न शुल्क जोडेर लाखौंको विल पठाएको उनले बताए।

अक्षर विद्या मन्दिरको विरोध गर्ने अभिभावकको बच्चालाई विद्यालयबाट निकाल्ने काम हुँदै आएको जानकारी दिदै उनले भने,‘हामी पीडित अभिभावकहरुले संयुक्त रुपमा बैठक नै गर्यौं। विद्यालयको मनोमानी रोक्ने प्रयास गर्यौं। विद्यालयसँग केही दिन छलफल पनि भयो। तर, पनि अहिले विभिन्न शुल्कको बाहाना देखाएर अभिभावकलाई विद्यालयले लुट्दैछ।’

लकडाउनमा चल्दै नचलेको सवारी शुल्क र अन्य कयौं शुल्क विद्यालयले लिइरहेको जानकारी दिदै उनले भने,‘हामी न्यायिक समितिमा जाने तयारी गर्दैछौं। विद्यार्थीलाई विद्यालयबाट निकाल्ने काम हुने गरेकोले केही अभिभावकहरु डराएका छन्।’

यता जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर एवं न्यायिक समितिकी संयोजक रिता कुमारी मिश्रले पीडित अभिभावकहरुलाई समितिमा उजुरी दिन आग्रह गरेकी छिन्।

हुलाकी न्यूजसँग उपमेयर मिश्रले भनिन्,‘केही विद्यालयहरुले शिक्षकको तलब पनि रोकेको छ। उहाँहरुलाई न्यायिक समितिले तलब दिलाउने गरेको छ। पीडित अभिभावकहरुलाई उजुरी दिन आग्रह गर्दछु। उहाँहरुको उजुरीका आधारमा न्यायिक समितिले न्यायिकका लागि पहल गर्नेछ।’

अक्षर विद्या मन्दिरले अनाधिकृत रुपमा उठाइरहेको रकमका विषयमा प्रतिक्रिया दिन चाहेन।

संस्थापक पी केजरिवाल, कार्यकारी निर्देशक पंकज जलान र प्रिन्सिपल प्रकाश कुमार मध्ये कोही पनि प्रतिक्रियाका लागि सम्पर्कमा आउन चाहेनन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.