हुलाकी न्यूज, काठमाडौं :
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य रघुवीर महासेठले हिन्दु राष्ट्र घोषणा गर्ने प्रचार गलत रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा महासेठले यही माघ २३ गते काठमाडौंमा हुने भेलामा प्रधानमन्त्री ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने भनेर गरिएको प्रचारमा कुनै सत्यता नभएको दाबी गरेका छन्।

हिन्दु राष्ट्र घोषणा गर्ने भन्ने विषयमा शून्य प्रतिशत पनि सत्यता नरहेको उनले बताए।

महासेठले केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै मिलेर चुनावमा जाने पनि उनले दाबी गरेका छन्। उनले भने–‘उहाँ मिलेर नै चुनावमा जानुहुन्छ, उहाँहरु नमिली सुखै छैन। पार्टी फुट्दैन। वामदेव गौतमको एकता प्रस्तावपनि सकारात्मक छ, तर यो प्रस्तावले पार्टी एकता हुने सम्भावना छैन। उहाँले पनि प्रधानमन्त्री ओलीलाई साथ दिनुहुन्छ।’

महासेठले आफूहरुलाई अदालत र निर्वाचन आयोग दुवैको निर्णय मान्य हुने भन्दै तोकिएकै मितिमा निर्वाचन हुने ठोकुवा गरे। उनले भने–‘चुनाव त एक सय प्रतिशत हुन्छ । म मित्रहरुलाई भन्न चाहन्छु कि चुनावका लागि हामी त तयारीमा जुटिसक्यौं। तपाईहरु पनि जुट्न्होस्। हामी अदालतको निर्णय मान्छौं। संसद पूनःस्थापना भनेको पनि उहाँ प्रधानमन्त्री ओलीनै प्रधानमन्त्री बन्ने हो। यदि निर्वाचनको हकमा पनि निर्णय लियो भने हामी आत्मसात गर्छौं। संवैधानिक इजलाशको निर्णय पर्खेर बसेका छौं। छिटोभन्दा छिटो इजलाशबाट निर्णय आउँछ।’

उनले नेकपा एकता हुँदा बखत नै सही तवरले नभएको गुनासो पोखे। उनले विगत सम्झिँदै भने–‘हाम्रो पार्टीको एकता जुन प्रकारले सुरु भयो, त्यो राम्रो तवरले भएको भए दुर्घटना हुने थिएन। एकता प्रक्रियाको धेरै कुरा मलाई थाहा छ। नेकपाका दोस्रो अधयक्ष प्रचण्डले जुन राजनीतिक अभियोगपत्र भन्नुभयो, त्यसमा पनि यो एकता प्रक्रिया फलानोको भरमा, फलानोलाई साक्षी राखेर भन्नुभएको छ।’

‘एकता प्रक्रियामा सूर्य छापमा चुनाव लड्ने भन्ने सहमति थियो, तर त्यो सहमति २४ घण्टा नबित्दै सूर्य छापमा चुनाव लडे राम्रो हुँदैन भनेर हाम्रै पार्टीका नेताहरुले भनेर प्रचण्डजी ब्याक हुनुभयो। तर, हामी मोर्चाबन्दी गरेर चुनाव लड्यौं। चुनाव सकिएपनि हाम्रो पार्टीको नेतृत्वमा करिब दुई तिहाईको सरकार बन्यो। प्रधानमन्त्री ओली बन्नुभयो। यो बीचमा सरकारले धेरै राम्रा काम गर्दागर्दै पनि पार्टीभित्रबाट सहयोग प्राप्त भएन।’ महासेठले भने, ‘प्रतिपक्षमा कांग्रेस थियो, तर उहाँहरुले प्रतिपक्षको भूमिका खेल्नुभएन। हाम्रै पार्टीभिबाट प्रतिपक्षको भाषा बोल्न थाल्नुभयो। ऐतिहासिक काम गर्दागर्दै पनि आफ्नै पार्टीबाट असहयोग भयो।’

आफ्नो पार्टीको सरकारले धेरै राम्रो काम गर्दापनि त्यसको सही व्याख्या र जनतामा प्रचारप्रसार गर्नुभन्दा पनि यो सरकारले केही गर्न सकेन भनेर आफ्नै पार्टीका साथीहरु लागेको पनि उनले आरोप लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.