हुलाकी न्यूज, सिरहा (लहान) :
जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनता राजका लागि मधेशमा अब महाआन्दोलन हुने बताएका छन्। १४ औं मधेश बलिदानी दिवसको अवसरमा डा.राउतले मधेश आन्दोलनको १४ वर्ष भएपनि शहीदहरुको सपना पुरा हुन नसकेको भन्दै अब महाआन्दोलन हुने जनाए।

सिरहाको लहानमा आयोजित सभालाई सम्बोधन गर्दै डा.राउतले भने,‘अब मधेशमा महाआन्दोलन हुनेछ। गद्दारहरुलाई बचाउन र अपराधीहरुलाई बचाउन आन्दोलन हुने छैन। अब आन्दोलन हुन्छ यी सर्पहरु(मधेश विरोधी नेताहरु)लाई भगाउनका लागि आन्दोलन हुनेछ।’

जनता राज र रोजगारी भगाउन महाआन्दोलन हुने डा.राउतले बताए। अब हुने आन्दोलनले खुशहाल मधेश बनाउने दाबी उनले गरे।

अहिले आन्दोलनको नाममा मधेशीलाई हत्या गराउन काठमाडौंबाट नेताहरु मधेश आएको भन्दै डा.राउतले आलोचना गरे।

‘३ वर्षदेखि यिनीहरु काठमाडौंमा लुकेर बसेका थिए। जब मधेशीहरु समस्यामा थिए तब यिनीहरुलाई मधेशको याद आएन। तर आज सत्ता हातबाट फुतिकिएपछि पुनः मधेश याद आएको छ।’ डा.राउतले भने, ‘सत्ताबाट बाहिरिएपछि पुनः मधेशीमा सहिद बनाउनेहरु घुम्दैछन्।’

डा.राउतले शहीदको सपना पुरा गर्न गएकाहरु मन्त्री भएर मधेशीमाथि नै दमन गरिरहेको टिप्पणी गरेका छन्।
‘१४ वर्ष भयो तर शहीदको सपना पुरा भएको छैन। आज उनीहरु मन्त्री भएर मधेशीमाथि नै दमन शोसन गराउँदैछन्।’ डा.राउतले भने,‘राममनोहर यादवको हत्या गराउने त्यही उपेन्द्र यादव हो। मधेशीलाई धोका दिने अरु कोही होइन मधेशी नेताहरु नै हुन्।’

बारम्बार मधेशी शहीद भएका छन् तर पनि समस्या समाधान नभएको डा.राउतले सुनाए।

मधेशीहरुले सर्पलाई दुध पिलाइरहेको भन्दै उनले आफ्नो भाषणमा सर्पसँग नेताहरुको तुलना गरे।

‘जब मधेशीले अधिकार माग्न थाले त्यसपछि कांग्रेसले मधेशीको हत्या गराउन थाले। त्यसपछि सब सुर्य छाप बने।’ डा.राउतले भने,‘आम बुझेर हामीलाई उनीहरुले हेप्यो। आँप झर्दैमा केही हुँदैन भनेर मधेशीलाई नेकपाले हेप्यो।’
‘मधेशीसँग लभ परेको भन्दै प्रचण्डले आफुसँग सुत्न भन्छन् र राति भएपछि टोक्छ।’ डा.राउतले भने,‘काठमाडौंमा रहेका केही अजगर साप पनि छन् जो काठमाडौंमा बसेर मधेशी शहीदको विक्री गर्छन्। उनीहरु कुर्सीमा बसेर ठेक्कापट्टा गर्छ।’

गजेन्द्र बाबु (गजेन्द्रनारायण सिंह)ले आफ्नो हातमा लिएर केही व्यक्तिलाई नेता बनाएको तर त्यही व्यक्तिहरुले सदभावनालाई समाप्त पारेको डा.राउतले बताए। उनीहरुलाई चुप्पा सार्पको संज्ञा उनले दिए।

‘पहाडमा हरियाली समाप्त भएपछि उनीहरु हरियो लुगा लगाएर मधेशमा परेका छन्।’ जसपाका नेता डा.बाबुरा भट्टराईप्रति लक्षित गर्दै डा.राउतले भने ‘संविधान जारी गर्ने पनि उही, संविधानसभा विघटन गर्ने पनि उही साप र अहिले पुनः उनी मधेशमा आएका छन्। र, अहिले उनी नै मधेशी पार्टीको अध्यक्ष बनेका छन्। त्यो सुगवा साप धेरै खतरनाक हुन्छ।’

मधेशी नेताहरुलाई कालिया नागको संज्ञा डा.राउतले दिए।

‘शहीद राममनोहर यादवहरुलाई हत्या गराउने त्यही कालिया नाग हुन्। नागभन्दा पनि खतरनाक हुन्।’ उनले भने,‘विषलु सार्प एक पटक टोक्छ तर कालिया नाग बाम्बार डस्नेछ। बारम्बार मन्त्री भएर उनीहरुले मधेशीलाई डसेका छन्। यिनीहरुले तपाईलाई पनि र तपाईको बच्चालाई पनि डस्नेछन्। त्यसकारण यिनीहरुलाई नचाएर फाल्नु पर्नेछ।’

नेताहरुलाई डा.राउतले दिए सर्पको संज्ञाः यस्ता छन् विशेषताहरु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.