हुलाकी न्यूज,काठमाडौँ : अफगानिस्तानको सर्वोच्च अदालतका दुईजना महिला न्यायाधीशको राजधानी काबुलमा गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन्।

उनीहरू कार्यालय जाने क्रममा यात्रा गरिरहेका बेला बन्दुकधारीहरूले निसाना बनाएको अदालतका एक प्रवक्ताले समाचार संस्था एएफपीलाई बताए।

सञ्चारकर्मी, अधिकारवादी र राजनीतिक व्यक्तित्वहरूप्रति लक्षित गरी पछिल्ला केही महिनाहरूमा शृङ्ख्लाबद्ध रूपमा गरिएका हत्यामध्ये यो पछिल्लो घटना हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ गरिएका अमेरिकी सेनाको सङ्ख्या घटाइरहेका बेला पछिल्ला आक्रमण भइरहेका छन्।

त्यहाँ करिब २,५०० अमेरिकी सेना मात्रै बाँकी रहेको बताइएको छ।

यसै हप्ता बीबीसीलाई दिएको अन्तर्वार्तामा अफगानिस्तानका उपराष्ट्रपतिले अस्थिर राष्ट्रबाट अमेरिकी सेना फिर्ता हुनुले हिंसाको जोखिम झन् बढाएको बताएका थिए।

बिहानको समयमा गरिएको गोली प्रहारमा दुई न्यायाधीशको हत्या भएको हो जसमा उनीहरूका सवारीचालक घाइते भएका छन्।

राजधानी काबुलमा भएको घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन।

आक्रमणका शृङ्खलामा तालिबान विद्रोहीहरूको भूमिका रहेको हुनसक्ने आशङ्का गरिएको छ। तर तालिबानले भने ती घटनाको जिम्मेवारी लिएको छैन।

अफगान सरकार र तालिबानबीच दोहामा शान्ति वार्ता भइरहेका बेला व्यक्ति लक्षित आक्रमणहरू भइरहेका छन्।बीबीसी नेपाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.