सांकेतिक तस्वीरः ज्योति यादव, द प्रिंट

रजत कायस्थ/शम्भू पंडित/ हुलाकी न्यूज, जनकपुरधामः धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ धरमपुरमा भएको सामूहिक बलात्कारका आरोपितहरु खुल्ला घुम्दैछन्। बलात्कारमा संलग्न ८ जना मध्ये ६ जना अहिले पनि खुल्ला घुमी रहेको र पैसा लिएर घटना मिलाउन दबाब दिइरहेको भन्दै पीडितका परिवारले आक्रोस व्यक्त गरेको छ।

२०७७ भदौ १ गते १५ वर्षीया एक दलित किशोरीको सामुहिक बलात्कार भएको थियो। धनुषाको नौ सयमा रहेको दिदीको घरबाट रघुनाथपुर फर्किने क्रममा धरमपुर नजिकै नियन्त्रणमा लिएर सामूहिक बलात्कार भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बलात्कारमा संलग्न विजय यादव र प्रताप सिंह अहिले उच्च अदालत जनकपुरको निर्णय अनुसार पुर्पक्षका लागि थुनामा रहेका छन्।

तर, बाँकी ६ जनालाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

प्रहरीका अनुसार सामूहिक बलात्कारमा संलग्न धनुषाधाम नगरपालिका २ धरमपुरका उपेन्द्र यादवका छोरा २३ वर्षीय शैलेन्द्र यादव, सोही स्थानका जयनारायण यादवका छोरा २० वर्षीय अनिलकुमार यादव, सोही स्थानका सत्यनारायण यादवका छोरा २७ वर्षीय बन्ठा भनिने श्याम सुन्दर यादव फरार रहेका छन्।

यसैगरी धरमपुरकै प्रमोद यादवका छोरा १९ वर्षीय खुसन भन्ने उन्देश्वर यादव, सोही स्थानका तेतर यादवका छोरा २५ वर्षीय मनोज यादव र शिवधर यादवका छोरा १९ वर्षीय विपिन यादव फरार रहेका छन्।

प्रहरी प्रतिवेदनका अनुसार शैलेन्द्र यादव, बन्ठा भनिने श्याम सुन्दर यादव, मनोजकुमार यादव र विजय यादवले पालैपाले बलात्कार गरेका थिए।

हुलाकी न्यूजको सम्पर्कमा आएका स्थानीयवासीका अनुसार प्रहरीले फरार भनेका बलात्कारका आरोपितहरु लुकिछिपि अहिले गाउँमै घुम्न थालेका छन्। आरोपितका आफन्तहरुले पीडितलाई पैसा दिएर घटना मिलाउने प्रयास जारी राखेका छन्।

बलात्कारको मूल्य २ लाख ५० हजार

बलात्कारको घटना मिलाउन आरोपितका आफन्तहरुले मंगलबार गाउँमै छलफल गरी प्रतिव्यक्ति २ लाख ५० हजारको दरले रकम संकलन गरेका छन्।

‘२ लाख ५० हजारको दरले पैसा उठाइएको छ। स्थानीय नेताहरुसँग मिलेर उक्त पैसा पीडितलाई दिने र मुद्दा फिर्ता गराउने तयारी भएको छ।’ स्रोतले भन्यो,‘अदालत र प्रहरी प्रशासनलाई लाग्ने खर्च यसअघि नै आरोपितको परिवारहरुले जम्मा गरेको थियो।’

उनका अनुसार बलात्कारमा संलग्न अनिलकुमार यादवका बुबा जयनारायण यादव र मनोज यादवका बुवा तेतरा यादवले पैसा संकलन गरी घटना मिलाउन र पीडितलाई मिल्न दबाब दिन थालेका छन्।

यसअघि पनि उक्त बलात्कारको घटना स्थानीय स्तरमै मिलाउन पीडितको परिवारलाई १२ लाख रकम दिने प्रयास भएको थियो। फरार रहेका बन्ठा भनिने श्याम सुन्दर यादवका बुबा सत्यनारायण यादवले उक्त रकम पीडितको परिवारलाई दिएर बलात्कारको घटना मिलाउन खोज्दा प्रहरीले पक्राउ गरेको थियो।
हाल उनी रिहा भएका छन्।

यता पीडितकी आमाका अनुसार घटना भएको चार महिना हुँदासमेत दोषीहरु पक्राउ नपर्नु दुःखद रहेको छ। उनले दोषीहरुलाई पक्राउ गरी न्यायिक प्रक्रिया अगाडि बढाउन आग्रह गरेकी छिन्।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ अनुसार १६ वर्षभन्दा कम उमेरकी बालिकाको बलात्कार गरे १२ वर्षदेखि १४ वर्ष कैदको व्यवस्था गरिएको छ। सामूहिक बलात्कार भएको खण्डमा थप पाँच वर्ष कैदको व्यवस्था गरिएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.