हुलाकी न्यूज,काठमाडौँ : जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनर्स्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका हुन्।
संसद पुनर्स्थापना वा चुनाव जे भए पनि फेरि प्रतिगमन हुने तर्क गर्दै उनले समस्याको स्थायी समाधान खोज्नुपर्ने बताए। संसद पुनर्स्थापना र मध्यावधि चुनाव दुवै संभ्रान्तको स्वार्थ रक्षाको एजेन्डा भएको उनले दाबी गरेका छन्।
‘संसद पुनर्स्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले संभ्रान्तको मात्र स्वार्थ रक्षा गर्छ,’ महतोले राजधानीमा आयोजित एक कार्यक्रममा भने, ‘स्थायी समाधान गर्ने हो भने बहुल राष्ट्रको निर्माण गर्नुपर्छ।’
देशमा संसद पुनर्स्थापना गरेर फेरि चुनावमा जाँदा अर्को पात्रले प्रतिगमन गर्ने ठोकुवा गरेका छन्। अहिलेको संविधान सबै जनताको नभएकाले समस्या आएको महतोको तर्क थियो। उनले भने, ‘बहुराष्ट्रिय राज्य स्थापना गरेपछि मात्र स्थायी समाधान हुन्छ। त्यसपछि जोसुकै प्रधानमन्त्री भए पनि फरक पर्दैन।’
देशमा मध्यावधी चुनाव हुन्छ भन्ने प्रश्नमा महतोले भने, ‘चुनाव प्रतिगमनकारीको धन्दा हो।’ चुनाव भए फेरि प्रतिगमन हुने ठोकुवा गरे। पटक पटक प्रतिगमनहरू भएको उल्लेख गर्दै सात पटक संविधान बन्दा पनि समस्या समाधान नभएको जिकिर गरे। सात पटक संविधान बन्दा पनि किन समस्या आयो?’ देशमा अहिलेको संविधानले प्रतिगमन गरि राख्ने ठोकुवा गरे। किस्ताबन्दीमा संसद पुनर्स्थापनाको कुरा गरेर अलमलाउने गतिविधि भइरहेको उनको जिकिर छ।
उनले पटक पटक बहुलराष्ट्रिय राज्य स्थापनामा जानैपर्ने बताए। बहुलतामा नगएसम्म प्रतिगमन भइरहने र गोलचक्करमा देश फसिरहने बताए। आफूहरु बहुराष्ट्रिय राज्य स्थापना गरेरै छाड्ने अभियानमा लागेको समेत बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गराएर प्रतिगमन गरेको महतोको भनाई थियो। ओलीको कदमबाट आश्चर्य मान्नुपर्ने कुनै कारण नभएको उनले बताए। ‘प्रतिगमनकारी संविधान बनाएका थिए, ओलीले फेरि प्रतिगमन गरेकोमा आश्चर्य नमाने हुन्छ,’ उनले भने, ‘यो संविधान अनुसार पटक पटक प्रतिगमन भइरहने छ।’
देशमा सात वटा संविधान बनाइसकिएको र पटक पटक कू भएको महतोको भनाई थियो। राणा, राजाहुँदै अहिले बनेको संविधानमा पनि स्वार्थ रक्षा नभएपछि प्रतिगमन गरिएको बताए। उनले भने, ‘संविधानमाथि गिरिजाप्रसाद कोइराला र प्रचण्डले पनि प्रतिगमन गरेका थिए, देउवाले पनि प्रतिगमन गरे।’‘अमेरिकामा एउटा संविधान २ सय वर्ष भइसक्यो, भारतमा ६५ वर्ष भइसक्यो। ७० वर्षमा नेपालमा सातवटा संविधान बनिसक्दा पनि समस्या के हो?,’ आफूहरूले बहुल राज्य स्थापना गरेर स्थायी समाधान निकाल्ने दाबी गरे।