हुलाकी न्यूज,काठमाडौँ : कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको छ । चीनको वुहान जान लागेको डब्ल्यूएचओको टिम चीन प्रवेश गर्न नपाएका हुन् । भिसामा समस्या भएका कारण टोली चीन प्रवेश गर्न नपाएको जनाएको छ।
डब्ल्यूएचओका दुई जना चीनको यात्रामा निस्किएकामा एक जना फर्किएका र अर्का एक जना तेस्रो देशको ट्रान्जिटमा रहेका बताइएको छ।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस एडहानोम घेब्रेयससले चीनले डब्ल्युएचओका अधिकारीलाई भिसा नदिएको भन्दै यो निकै दुःखद घटना भएको बताएका छन्। उनले चीनले वुहानमा कोरोनापछिको अवस्थाबारे अध्ययनका लागि जान लागेको टोलीका सदस्यलाई भिषा प्राप्त नभएको बताए।
उनले यो अध्ययन डब्ल्युएचओका लागि र अन्तर्राष्ट्रिय जगतका लागि निकै महत्वपूणर् रहेको बताउँदै भिसाका लागि चीनका एक उच्च अधिकारीसँग छलफल भइरहेको पनि बताएका छन्।
लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो। वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने तयारी गरेको छ।अन्नपूर्णापोस्ट