हुलाकी न्यूज, काठमाडौं :
राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी(जसपा) गठन भएपनि उपेन्द्र यादवले एक पक्षीय प्रशिक्षण चलाएको भन्दै विरोध भएको छ।

तत्कालिन राजपा युवा संगठनका सहअध्यक्ष कामेन्द्र वर्माले उपेन्द्र यादवले आफ्नो पार्टीका युवा संगठनलाई मात्र प्रशिक्षण दिएको भन्दै आपत्ति जनाएका हुन्।

उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा संघले प्रशिक्षण जारी राखेको छ। युवा संघले यसअघि लुम्बिनीमा र आइतबारदेखि जनकपुरधाममा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो।
प्रशिक्षण कार्यक्रमको उद्घाटन उपेन्द्र यादवले गरेका थिए।

तत्कालिन राजपा युवा संगठनमा महासचिव देबानन्द यादवले पार्टीभित्र छलफल नै नगरी प्रशिक्षण चलाउनु पार्टी विभाजनको संकेत दिएको बताउँछन्।

‘समाजवादी पार्टीका युवालाई मात्रै समेटेर भइरहेको प्रशिक्षण गलत हो। पार्टी एकीकरण भइसकेको अवस्थामा सबै युवा संगठनहरुसँग छलफल गरी कार्यक्रम हुनु पर्ने थियो। तर, हामीलाई त्यस सम्कन्धी कुनै जानकारी दिइएको छैन।’ यादवले भने,‘केन्द्रीय नेताहरुले ध्यान दिनु पर्यो। उपेन्द्र यादवको यस्तो गतिविधिले पार्टी एकीकरणको अस्तित्व नै खतरामा पर्नेछ। यसले पार्टी विभाजनको संकेत गर्छ।’

सहअध्यक्ष वर्माले समायोजन प्रक्रिया अगाडि बढाउनु पर्ने अवस्थामा एकलौटी आफ्नो संगठनलाई मात्र बढाउन खोज्नु जसपाका अन्य घटकलाई होच्याउने प्रयास भएको बताए। उपेन्द्र यादव समूहको यस्तो गतिविधि पार्टी एकीकरणमा घातक सावित हुने वर्माले जनाए।

यता समाजवादी युवा संघले भने युवा संगठनको समायोजन प्रक्रिया पुरा नभएको र आफूहरुले सबैलाई समेट्ने प्रयास गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.