
हुलाकी न्यूज, जनकपुरधामः जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लोकतन्त्र रक्षा गर्न नसक्ने दाबी गरेका छन्।
जनकपुरधाममा आयोजित पार्टीका युवाहरुको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले ओली र देउवाको एउटै बोली र लोकतन्त्रको रक्षा गर्न नसक्ने टिप्पणी गरे।
तर, अध्यक्ष यादव भने नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालप्रति मौन रहे।
कार्यक्रममा यादवले ओली राजा महाराजाकै बाटोमा लागेको टिप्पणी गर्दै कार्यशैली महेन्द्रवादी, निरंकुशवादी र नश्लवादी भएको बताए।
आन्दोलनका लागि तयार रहन आग्रह
प्रशिक्षण उद्घाटनका क्रममा अध्यक्ष यादवले आन्दोलनका लागि तयार रहन युवाहरुलाई भनेका छन्। प्रधानमन्त्री ओलीले देशमा संकटकाल लगाउन लागेको भन्दै यादवले युवाहरुलाई आक्रमक अवस्थामा ल्याउने प्रयास गरे।
‘ओलीले संसद विघटन चुनाव गराउनका लागि गरेकै होइनन्। अब प्रदेशसभा पनि समाप्त पार्छन्। त्यसपछि आन्दोलन हुन्छ, अनि संकटकाल लगाउँछन्। त्यसपछि सेनाले संविधान भंग गरेर अगाडि बढ्छ।’ यादवले भने, ‘लामो आन्दोलनबाट प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता, मौलिक हक जस्ता अधिकार ओलीले समाप्त पार्न खोजेका छन्। फेरि मुलुकलाई निरंकुश शासन प्रणालीतिर मुलुकलाई लैजान खोजिएको छ।’



